• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
राजधानीका डन र मोफसलका गुरुजी
64x64
डा. दामोदर पुडासैनी किशोर शनिबार, जेठ २८, २०७९  १४:०७
1140x725

दुर्घटना जुर्मुराउँछन् विवेकहीन चालकसामु।

जिन्दगी जोखिमहरूको शृङ्खला हो। धेरै जोखिमहरूमध्ये कम जोखिम खोज्ने हो। जोखिमबिनाको जिन्दगी हुरी नसहेको वृक्षजस्तै हो। सबैभन्दा ठूलो जोखिम सहन नसकेपछि मृत्युले झम्टन्छ जीवनलाई।

हिमाल आफैँ सौन्दर्य हो, जोखिम हो र हो रहस्यको स्रोतस्विनी। तिब्बती पठारमा टाँसिएको लोमान्थाङमा खतराका शृङ्खलाहरूसँग जुध्नुपर्छ भन्ने मानसिकता बनाएरै यात्रा आरम्भ गरेका थियौँ हामीले। पैदल, बस, जिप, ट्रक, हवाइजहाज जेजस्तो भेटिन्छ त्यसैमा बढ्नुपर्छ भन्ने मान्यता बनायौँ यात्रारम्भपूर्व नै।

यात्राका लागि योजना बनाउनुपर्छ, तर पूर्ण योजनामा चल्दैन यात्रा। जीवन पनि कहाँ चल्छ र निर्धारित योजनामा। ‘जो हात सो साथ’ भन्ने सिद्धान्तमा गति दिइयो भने मात्र आनन्द बन्छन् यात्रा र जिन्दगी।

डा. दामोदर पुडासैनी ‘किशोर’

म्याग्दीको बेनीबाट जोमसोमसम्म गाडी चल्न थालेको पाँच सात वर्ष मात्र भयो। जोमसोमबाट लोमान्थाङ गाडी चल्न थालेको त झन् दुई वर्ष पनि पूरा भएको छैन। गाडी चल्ने भन्ने मात्र, मृत्युरेखाजस्ता छन् सडकहरू। एक पटक गाडीमा यात्रा गरेपछि जो कोही पनि गाडीभन्दा पैदल यात्रा नै उत्तम भन्ने निष्कर्षमा पुग्छ।
बेनीबाट सवारी साधनमा लोमान्थाङ पुगेर फर्कनु पुनर्जीवन पाउनुजस्तै हुन्छ।

पाइला पाइलामा ठोकठाक पारिरहनुपर्ने गाडीहरू, आफ्नाबाहेक अरूका गाडी प्रवेश गर्न नै नदिने स्थानीय यातायात व्यवसायीहरूको सिन्डिकेट, आपूmलाई राजा र यात्रुलाई पत्रु ठान्ने चालकहरूको मानसिकता थियो त्यो बेला। घरी घरी त्यस्तो यात्रा बित्थामा गरियो भन्ने पनि लाग्थ्यो।

‘जस्तो रङ्ग उस्तै सङ्ग’ सार्थक देखिन्छ मुस्ताङ यात्रामा। ‘जस्तो घरबार, उस्तै बच्चाको व्यवहार’ भन्ने प्रमाणित हुन्छ। देशको राजनीतिक व्यवस्थाजस्ता छन् गाडीहरू, कहिल्यै कन्डिसनमा नरहने। जनताको नाममा जनताकै हुर्मत लिने देशका नेताजस्ता छन् चालकहरू। जसरी  देश चलाउने कुरामा नेताको विश्वास गर्न सकेका छैनन् जनताले, र पनि नेताकै भर नगरी भएको छैन। त्यसै गरी विश्वास र भरोसा नहुँदानहुँदै पनि गाडीमा यात्रा नगरी सुख्खै छैन मुस्ताङमा।

‘यो मान्छे होइन, गाडी हो बुझ्नु’भो। मान्छे त दह्रो गरी टेकेन भने लड्छ, गाडी त खुर्मुरिन कति बेर? आत्तिने भए ओर्लिनूस् यतै,’ बेनीबाट गलेश्वर नाघ्न खोज्दैछ हामी चढेको गाडी। सडकमा होइन पहिरामा पुतपुत धुँवा फ्याक्दै कुलेलम ठोक्दै छ गाडी। अप्ठेरामा झन् धेरै एस्सिलेटर दबाउँदै छन् गुरुजी। झन्डै झन्डै कालीगण्डकीमा हामफाल्न आँटेको थियो गाडीले। हामी सबैको सातोपुत्लो उडेको थियो। आत्तिएर एउटी बहिनीले चिच्याउँदा गुरुजी बनेथे हिंस्रक चितुवा। बोले, ‘सहरमा चल्ने गाडी होइन यो। पहाडमा गाडी चढ्ने, मरिन्छ कि भनेर आत्तिने!’ कुरा सुन्दा लाग्थ्यो उनी चालक होइन, मृत्युको टिकट काटिदिने अधिकारी हुन्।

पत्यौल धुलो उडोस् कि गजगज हिलोमा चक्का धसिएर ठेल्न परोस्, ढुङ्गामा ठोक्किएर पत्ता भाँचियोस् कि भित्तामा कोल्टिएर गाडी कुच्चियोस्, गति सीमित छैन कुनै गाडीको। गाडी गाडियो, यात्रुले ओर्लेर ठेलिहाल्नुपर्ने। चक्का गाडियो, यात्रु ओर्लेर उचाल्ने र धकेल्ने गरिहाल्नुपर्ने। चालकले जे जस्तो श्लील अश्लील बोले पनि यात्रुले जी हजुरी गरिरहनुपर्ने। कसैले तर्क र मर्मको कुरा गर्‍यो भने गाडी रोकेर बीचैमा ओरालिदिने— गाडी चालक त युगान्डाका दादा इदि अमिनभन्दा क्रुर, इराकका सद्दाम हुसेनभन्दा निरङ्कुश र लिबियाका कर्णेल कद्दाफीभन्दा मनमौजी देखिए।

यो देशमा नेताले जनताको मानमर्दन गरेका छन्। प्रशासकले सेवाग्राहीको हुर्मत लिएका छन्। व्यापारी ग्राहकको सेवा होइन ठगी गर्न तम्सिएका छन्। धर्माधिकारीहरू नाटक रचेर भक्तहरूलाई बलात्कार गर्ने र उनका श्रीसम्पत्ति कुम्ल्याउँदै मख्ख परिरहेछन्। अनि के अछुतो रहन्थ्यो र ड्राइभर पनि! 

डाँडाहरू हरिया सिरक ओडेर उठिरहेछन्। दुध बोकेका झरनाहरू मद्दिम सङ्गीतमा उर्लिइरहेछन्। बालीका बयेलीले रसिला र जाँगरिला देखिँदैछन् गाउँहरू। कम से कम त्यो दृश्य हेर्दै गुड्न पाए पनि अलि बिर्सिइन्थ्यो होला गाडीको पीडा। झ्याउँकिरी र चराचुरुङ्गीका अनवरत आवाजमा रम्न पाए कति खुसी बन्थ्यो मन। धोत्रे स्पिकरहरूबाट फुल भोलुममा बजिरहेछन् विरसिला सङ्गीत। चर्को आवाजले कानको जाली नै फाट्ला कि भन्ने आशङ्का जुर्मुराईरहेछ।

‘भाइ, त्यो स्पिकरको आवाज अलि सानो पार्न मिल्दैन,’ विनय पोख्नुहुन्छ मित्र। गाडीमा बस्ने सबै यात्रुको मनको आवाज थियो त्यो।

‘ए, गीत पनि सुन्न सक्नुहुन्न होइन, तपाईँ? नसुन्ने भए रुमाल कोच्नुहोस् कानमा। सानो सुन्ने भए आफ्नै मोबाइलमा सुने भइहाल्यो नि। गीत सुन्न गाह्रो भए हिँडेर जानुहोस्, रोकिदिऊँ? तिप्लिङको मोडमै झन् तमतमिलो बने बानियाँ ड्राइभर।

‘ए अङ्कल, तपाईंलाई बस्न पनि आउँदैन कि कसो, अलि खुम्चिएर बस्नुहोस् कति मोटाउन परेको तपाईंलाई?’ ड्राइभरकै भाइ रमेश बानियाँले थपे त्यहीँनेर। बँदेलका दाह्रा र बाघको झाप्पु एकै पटक सहन परेपछि के भयो होला हविगत! यात्रुहरू चुप छन्। उसै त मान्छे र भारीतारीले उकुसमुकुस भइरहेथ्यो गाडीमा, झन् तिप्लिङबाट तेलका ग्यालेन, चाउचाउका कार्टुन, चुरोटका बिटा र चामलका बोरा थपिदिए चालक र सहचालकले। मेरा दुवै घुँडामाथि चाउचाउ विराजमान भो’। सँगैको मित्रकहाँ खुर्सानीको बोरा ढसमस्सियो। पारिपट्टिको सिटधारीकहाँ चिउरा र मट्टितेल मजमस्त भो’। अघिल्तिर प्लास्टिक र सिल्भरका भाँडाहरू भन्भनिन थाले। 

हामी मान्छे त सरसामान अड्याउने स्टयाण्ड र थाम्ने जीव पो भयौँ गाडीभित्र।

‘लौ न मेरो त जिउभरि खुदो पो पोखियो, कसरी जानु यो सकस सहेर,’ पोखरामा परीक्षा दिएर फर्केकी एउटी चेली बोलिन्। उनको बोली खस्न नपाउँदै सहचालक बोले, ‘गाडीमा सकस मान्ने भए ओर्लेर लुरुलुरु बाटो तताए भइहाल्यो नि। सामान मात्र बोके पनि हामीलाई भारी नपुग्ने होइन क्यारे। बरु मान्छेको साटो मालताल मात्र बोकूँ भोलिदेखि। कम से कम गनगन त सुन्न पर्थेन। पुर्पुराको पसिना पैतालामा पु¥याएर खुई खुई गर्दै पहाड चढ्न पर्नेले गाडी चढ्न पाएका छन्। अझ सुन्नुपर्छ उनीहरूकै गुनासो। कुकुरलाई घिउ नपचेको भनेको यही हो नि,’ भएभरको बल झिकेर भुतभुताए कन्डक्टर।

‘छोड्दे, गु’लाई चलाएर गन्ध, बरु एक कानले सुन्यो, अर्को कानले उडायो पेसिन्जरको कुरा सुन्ने हो भने गाडी नचलाए हुन्छ। पेसिन्जर भनेका कुराका पोका, बुद्धिका बोका हुन्,’ उल्टै पेसिन्जर त कबाडीभन्दा तल्लो दर्जामा दर्शाए ड्राइभरले।

‘ए, भाइ मुख सम्हालेर बोल, पेसिन्जर नभए केलाई चलाउँथ्यौ गाडी? जसले फाइदा दिएको छ उसैको अपमान?’ भनिदिउँ जस्तो लागेको हो। ‘अजानु भएर बस्नुभन्दा मसान हुनु जाती’ भन्ने लागेको पनि हो। तैपनि, गुहु र गोबर छ्यान पहिचान नभएकालाई के कराउनु जस्तो लाग्यो।

माथितिर निलो आकाश छेड्दै उभिएका छन् डाँडाहरू। तलतिर डाँडा नै थर्काउने गरी उर्लिइरहेछ कालीगण्डकी। सतह नमिलेका ढुङ्गाहरू, बगेको लेदो, ठाउँ छोडेको पहिरो, बाटाभरि बगिरहेका पानीका जरुवा र बाटै ढाकेर जमेको पोखरीमा हेलिँदै हुईँकिदैछ गाडी। तातोपानी बजार देखिँदैछ आँखाको पल्लो सीमानामा। 
तीन आमाहरू र दुई बहिनीहरू माथितिरबाट झर्दै थिए। गाडी देखेर आत्तिए बिचराहरू। दुई ओटी माथिल्लो कान्लातिर र तीन ओटी छेउतिर तर्किए बरा। सडक फराक नै थियो। हाम्रा गुरुजीले किचूँला जस्तो गरेर छेउतिरै हुत्याए गाडी। खाल्टामा जमेको धमिलो पानीले निथ्रुक्क भिजे कपालदेखि पाइतालासम्म। भिरको घँघारुको बोटमा झुन्डिएर धन्न ज्यान बचाए बरा। 

उनीहरू मध्ये दुई ओटीले काखी च्यापेका कुखुरा क्वाँ... क्वाँ... गर्दै भिर नै भिर कता खुस्किए कुन्नि? बाघसँग जम्काभेट भए झैँ गाडीलाई हेरिरहे बिचराहरूले। हाम्रो ड्राइभर भने भन्दै थिए, ‘यी सोल्टिनीहरूलाई भिरबाट खुर्मुर्याइदिऊँ भनेको, धन्न बाँचे। आयु त लिएरै आएका रहेछन् मोरीहरूले।’

के बोल्ने के नबोल्ने केही ठेगान थिएन चालक र सहचालकको। गाडीमा महिलाहरू थिए। बाउ र काका उमेरका हामी पनि थियौँ। उनीहरू मात्तिएर जे पनि फोहोर ओकल्ने, पात्तिएको जँड्याहा जस्ता भइरहेथे। आमाचकारी बोल्नु, आमिषे ठट्टा गर्नु— सामान्य थियो उनीहरूको। गाडी होइन मात्तिएर कान्ला नाघिरहेको गोरुमाथि चढेर यात्रा गरेझैँ लाग्दै थियो। गाडीमा सवार जसले त्यस्तो व्यवहार नगर्न भन्थ्यो ऊ नै फोहोरी बाघेझाप्पुमा पथ्र्यो चालकदलको।

ड्राइभर र कन्डक्टर बन्नेबित्तिकै डनको रूप धारण गरिहाल्नुपर्ने संस्कार बसेको छ हाम्रो देशमा। गाडीमा यात्रु नचढुन्जेल पाउमै परुँला जसरी ज्यू ज्यू गर्ने, चढ्नेबित्तिकै घचेट्ने, अँचेट्ने, चिमोट्ने, जथाभावी बोल्ने, बढी भाडा असुल्ने, इज्जत हुर्मतको ख्याल नगर्ने बानी व्यहोरा भएको छ जनता चढ्ने सवारीहरूमा।

भोट नपाउन्जेल जनताका खुट्टामा तेल मालिस गरुँला झैँ गर्ने, चुनाव जित्नेबित्तिकै जनता र सुकेका जरामा केही फरक नदेख्ने नेता र ड्राइभरमा केही फरक देखिएको छैन। दुवैको हातमा स्टेरिङ छ, तर कहाँ लगेर लडाइदिने हुन्! यात्रु र जनताको ढुकढुकी अस्वाभाविक बढिरहेछ।

बस, टेम्पु, ट्याक्सी, माइक्रो, टिपर, ट्रक कुनै पनि सार्वजनिक साधनका सञ्चालक सम्झनेबित्तिकै अमिलो बन्छ मन धेरैको।

संजोगले मात्र बाँचिरहेछ जिन्दगी। मौजुदा प्रणालीहरू क्षण क्षणमा मृत्युपत्र बकिरहन्छन्।

एक पटक दिल्ली भ्रमणमा थिएँ म। एक मित्रलाई भेट्नु थियो। मित्र बस्ने ठाउँ मात्र थाहा थियो— चाँदनी चोक। सजिलै पुगिएला नि’ भनेर परियो ट्याक्सीको सहारा। ट्याक्सीले फनफनी घुमाइरह्यो पैँतालीस मिनेट र माग्यो पाँच सय। साथीलाई भेटेपछि पो थाहा भयो त्यो बाटो पैदल नै पाँच मिनेटमा पार गर्न सकिने रहेछ। ट्याक्सी भाडा पनि तीस रुपियाँभन्दा बढी नलाग्ने रहेछ। नयाँ यात्रु चिनेपछि गल्ली गल्ली घुमाएर ‘घुम्दै फिर्दै रुम्जाटार’ गराउने चलन विदेशमै पनि कहाँ कम छ र?

रुप्से झरनासम्म पुगेपछि बदल्न पर्ने रहेछ गाडी। बदलियो। चालक दलको व्यवहार बदलिएन। झन् कठोर, झन् भालुकाँडे शैली। 

भएभरका राँगा र भैँसी कोचिएका छन् ट्रकमा। कसैको बाँधिएको नत्थी चुँडिएको छ, कसैको जिउभरि घाउ नै घाउका पहिरा छन्, कोही थिचिएर मर्नै आँटेका छन्, कोही प्यासले भलभली बगेको आफ्नै रगत चाटिरहेछन् तैपनि ट्रक उकालो लागेको लाग्यै छ थानकोटमास्तिर। रगतका धाराले बाइस धारा बनेको छ ट्रकमा। हो त्यस्तै भयो रुप्सेबाट घासा हुँदै जोमसोम पुग्दा। भेलमा बगेको ढुङ्गाले भन्दा बढी गोता पाइरहेछन् यात्रुहरूले।

अझैसम्म सवारी साधन ‘आवश्यकता’ भन्दा ‘विलासी’ रूपमा छ हाम्रोतिर। सडक बनाउने होइन, ट्रयाक मात्र खोल्ने काम गर्छ सरकार। ट्रयाक भेटेपछि जनतालाई ठग्ने मेसिनका रूपमा सवारी साधन तेस्र्याउँछ व्यापारी। ‘खाए खा नखाए घिच’को परिस्थिति बुझेर सवारी साधनमा चढ्न बाध्य छ जनता। औँलाले स्टेरिङ छोएपछि आफैँलाई महानायक सम्झन्छ ड्राइभर। जाने हो, बाँच्ने मर्नेको केही ठेगान छैन। जिन्दगी जस्तै बिलकुल अनिश्चित छ यात्रा। पाङ्ग्रा गुड्ने सडकको वास्ता गरिँदैन, सवारी साधनको भार वहन क्षमताको मतलब गरिँदैन, नियमित मर्मतको सम्झनासम्म गरिँदैन, लहडमा तुजुक देखाउने चालकहरूको हातमा स्टेरिङ परेपछि र दुर्घटनामा ज्यान स्वाहा भए त्यसको क्षतिपूर्ति सिन्डिकेटवाला समितिले व्यहोर्ने संस्कार बसेपछि चालक र गाडी त भक्कुको राँगोजस्ता, जसलाई पनि हान्ने र मार्नेमा माहिर भइहाले।

गाडी हुइँक्याउन जानेपछि कसैलाई गन्दैन ड्राइभर। उसैको भरमा जानुपर्ने, उसैले पैसा असुल्ने, उसले चाहे जहाँतहीँ रोक्ने, नचाहे बिसौनीमा पनि नरोक्ने, इच्छा लागे सिटभन्दा बढी यात्रु कोच्ने, नलागे खाली सिटमै दौडाउने, बाख्रा हालेर बस कुदाए पनि ठिक, मान्छे कोचेर ट्रकलाई कुलेलम ठोकाए पनि ठिक। नेपालका ड्राइभर जत्तिको स्वतन्त्र अरू कोही छैन संसारमा। अधिक स्वतन्त्रताले अधिनायक बनाउन सक्छ कसै कसैलाई— यही रोगले ग्रसित छन् नेपाल हाँक्नेहरू पनि।
अधिकार भेट्नेबित्तिकै हुकुम प्रमाङ्गी प्रक्षेपण गर्ने संस्कार छ हाम्रो। सहजकर्ता होइन अवरोधक बन्न लालायित बन्छ अधिकारी। सरल बनाउन होइन काम नगर्ने सूचीको सूत्र बनेका छन् ऐन कानुन। ढोकेदेखि कुर्सीधारीहरूसम्म सबै हप्काउन, दप्काउन र लप्काउन लालायित छन्।
गति तान्नेहरू नै गजक्क पर्न थालेपछि गन्हाउने नै भयो अरूको हविगत।

गाडी हाँक्ने मात्र होइन हर क्षेत्रका गुरुजीहरूबाट पीडित छ नेपाल। गुरुजी अर्थात् डाडु  पन्युधारीहरू।

रुप्सेबाट हिँडेको बस एक घण्टामा घासा पुग्यो र रोकियो। यात्रुसँग लिएको चार सय दस चट्। त्यही बसले कमसेकम जोमसोम पुर्‍याइदिएको भएपनि बल्ल बल्ल सिट पाउनेले छोड्नु त पर्ने थिएन। फेरि अर्को बसको सिट पाउन ठेलमठेल, फेरि सिटका लागि नाना किसिमको मोलमोलाइ।

‘यस्तो नगरेको भए हुन्थ्यो नि भाइ’— सिन्डिकेटका नाइके समितिका कर्मचारीलाई सानो गुनासो मात्र गर्‍यौँ हामीले।

‘एउटा गाडीले मात्र कमाएर हुन्छ, सबै गाडीले कमाउनुपर्‍यो, सबै ठाउँका होटल, पसल र कर्मचारी पालिनुपर्‍यो नि!’ कर्मचारी र अर्को बसका गुरुजीले एकै पटक मुक्याउँला झैँ गरे। उनीहरूका लागि यात्रुहरू हरेकको बल्छीमा छिरिदिनुपर्ने रहेछ।

‘त्यतिको भाडा तिरियो। न बस्न सिट पाइयो। न झ्याल ढोकामा सिसा छन्। धुलो नै धुलाले अनुहार र आङमा भिरेको कपडा उस्तै भो। योभन्दा त बरु हिँडेकै भए राम्रो हुन्थ्यो,’ जोमसोम बस स्टपमा बसबाट ओर्लनेबित्तिकै ढुङ्गामा थुचुक्क बसे मुक्तिनाथ रानीपौवाका हरि गुरुङ।

‘यो देश नै यस्तै हो, यहाँ सेवा प्रदायक ‘ठालु’ ठहरिन्छन् सेवाग्राही ‘रैती’। ख्वै, कर र मालपोत तिर्नेले के पाएको छ त राज्यबाट। घर बनाउनेबाट घर कर त उठाउँछ सरकार तर न खानेपानीको बन्दोवस्त मिलाइदिन्छ, न विद्युत्को, न बाटोघाटो र ढलको।’ आक्रोशित बने अर्का भाइ।

गोठालाको लठ्ठी खाएको गोरु झैँ कुलेलम ठोकिरहेछ बस। ढुङ्ग्याने डाँडाहरूबाट गुल्टेका गोल गोल ढुङ्गाहरू र बलौटे माटाको पहिरो जस्तो छ सडक। गाडीका पाङ्ग्राहरू सन्तुलित छैनन्। बसमा गीत बजिरहेछ—
‘मलाई हङ्कङ पनि यहीँ, मलाई बैंकक पनि यहीँ 
मलाई बियर पनि यही, मलाई ह्विस्की पनि यहीँ।

सवारी साधनहरूले भाषिक एकता भने मज्जाले ल्याएको देख्छु म। मेचीदेखि कालीसम्म जहाँका सडकहरूमा पनि नेपाली भाषाकै लोक दोहोरीहरू बजेको सुनिन्छ। भाषिक एकताको नाममा स्थानीय भाषा मर्नु भनेको जून वरिपरिका पिलपिले तारा मार्नुजत्तिकै हो।

‘भाइ, मलाई बान्ता चल्ला जस्तो छ, क्यासेट अलि सानो पारिदेऊ न’— बसभित्रकी एउटी दिदीले पोख्नुहुन्छ दुःखेसो।

‘गीत सुनेर बान्ता हुन्छ, धेरै खाएर पो हुन्छ बान्ता, अर्काले पाँच सय तिरेर ल्याएको सीडी सुन्न पनि नपाउने, तपाईंलाई बहुला कुकुरले टोकेको छ कि क्या हो?’ ड्राइभरको विष वमनमा केही बोल्न सक्नुभएन दिदीले। बरु वाक्न थाल्नु भो’ तारन्तार।

‘ए वाक्न पो चढेको गाडी, त्यस्तो वाक्नेले किन चढ्नु यो बसमा! लौ पुछ,’ दिदीले मजेत्रोले बान्ता नपुछी सुखै पाउनुभएन बरा।

विकसित देशमा सार्वजनिक गाडीमा सकेसम्म गीत बजाइँदैन। गाडीभित्रको ध्वनि र आवाजले बाहिर स्पर्श गर्नुहुँदैन भन्नेमा सचेत हुन्छन् सबै जना। हाम्रामा भने अरिङ्गालको गोला झैँ मान्छे कोच्नु र कानको जाली नै फुट्ने गरी गीत सङ्गीत घन्काउनु बहादुरी मानिन्छ।

बल्ल बसले नाघेको छ कागबेनी। मसँगैको सिटमा एक जना बुढा बा बस्नुभएको थियो। दम, खोकी र ज्वराले निकै सताएथ्यो उहाँलाई। उहाँलाई सिटमा अड्न पनि गाह्रो भइरहेको महसुस हुन्थ्यो। बेला बेलामा समाइदिन्थेँ म। ‘के गर्नु बाबु रोग र कमजोरीले सताएपछि असाध्यै अप्ठेरो बन्दो रहेछ बुढेसकाल।’ बोल्न सकेको बेलामा बताउनुहुुन्थ्यो बाबाले।

‘ओई, तिम्लाई बस्न नि आउँदैन, के हल्लीहल्ली बसेको, जाऊ पछाडि गएर उभ,’ एक हातले स्टेरिङ अर्को हातले बुढाको हात तानेर उठाउन थाल्छ गुरुजी। स्टेरिङ विपरीततिर मोडिएर गाडी नै पुल्टुङबाजी खाला भन्ने बढ्छ पिर।

‘भाइ बूढो जो पनि हुन्छ, गाडी भनेकै सुविस्ताका लागि चाहिने हो। यस्तो अशक्त मान्छेलाई त माया पो गर्नुपर्छ, त्यसरी घुच्याउने हो?’ बोलेँ म।
‘त्यस्तो माया भए ओर्लेर बोकेर लैजानूस् न, के हिरो पल्ट्या?’ राता राता आँखा पल्टाए उनले।

‘यो ड्राइभर त सारै रिसाहा पो छ। पेसिन्जरले रिस उठायो भने पल्टाउन बेर लगाउँदैन गाडी,’ पछिल्तिरबाट एक जना बोलेको सुनियो। त्यो सुनेपछि झन् गमक्क गम्कियो गुरुजी। गलत कुरालाई गम्भीरतापूर्वक लिनुभन्दा झन् हाँसाको रूपमा लिने प्रवृत्ति छ। 

ताङ्वे गाउँनजिकै गुडिरहेछ बस। तलतिर फिँजारिएर बग्दैछ कालीगण्डकी। माथितिर आकाश नै नदेखिने पहाड छ। पहाडकै पटुकीमा निस्फिक्री दौडिरहेछ बस।
‘यो ड्राइभर त रक्सीको सुरमा जस्तो छ, आँखा हेर्नुस् त सर,’ कानेखुसी गर्नुहुन्छ मित्र।

‘कि ओर्लेर हिँडुँ’— कानमै फुसफुसाउनुभयो अर्को मित्रले पछिल्लो सिटबाट।

गुरुजीका आँखा गोलभेँडा जस्ता छन्। बेला बेलामा गाडी हाँक्दाहाँक्दै आँखा लोलाउँछन्। ‘लौ अब गन्न मिल्ने गरी हाडखोर छरिदिने भए यतै भिरमा,’ कालोनिलो छ तिनै जनाको अनुहार।

बिग्रेर सडकमै रोकिराखेको रहेछ एउटा मोस्टाङ गाडी। ‘लौ अब हाम्रो बस रोकिने भयो, बरु ठिकै भयो।’ सोच्यौँ हामीले। के रोकिन्थ्यो बरु गुटुट्ट गुडिरह्यो हाम्रो बस।

‘लौ न अब भने गुल्टिने भयो हाम्रो बस। बाटामै नभएको ठाउँमा किन लगेको होला,’ हामीले आपसमा हात अँठ्यायौ र भिरतिर हे¥यौँ। छेउतिरका दुई चक्का धुलो माटोबाट चिप्लन ठिक्क परेका   छन्। बोलुँ गुरुजी रिसाएर बस भिरबाट गुल्ट्याइदिएर आपूm फालहाल्लान् भन्ने डर। ‘बोल् बोल् माछा मुखभरि पानी’ को स्थितिमा ढुक ढुक गरेको मुटु माडिरह्यौँ।

जेनतेन हाम्रो बस पार गर्लान् भनेको त बिग्रेको गाडीसँगै भिरको मुखमै टक्क रोके गाडी गुरुजीले। बिग्रेको गाडी मर्मत गर्दै थिए दुई जना। उनीहरूसँगै हात हल्लाई हल्लाई गफिन थाले गुरुजी। मानौँ गाडी पल्टाउन पाए सफलता मान्ने छन् उनले। अब भने पक्का पल्टन्छ बस। रक्तचाप बढेर राताम्य बनेको छ यात्रुको अनुहार। 

‘ए ड्राइभर, बस गुल्टिन आँटिसक्यो कहाँ रोकिराखेको?’ मर्नुभन्दा बहुलाउनु निकोको स्थितिमा पछिल्तिरबाट उठ्यो एउटा आवाज।

‘ओइ, को हो त्यसो भन्ने। बस हाँक्ने म हो कि तँ, भन् को हो?’ प्रहरीले चोर खोजे झैँ कुर्लिए गुरुजी। कसैले पनि ‘म हुँ’ भन्ने साहस गरेन।

‘बढ्ता नकरा, अहिले बस गुल्ट्याएर कालीका माछाका आहारा बनाइदिन्छु, अनि,’ जुध्न ठिक्क परेको साँढेको जस्तो देखियो गुरुजीको अनुहार।

‘छिट्टो आइजो है छुक्साङमा, बेस्सरी मात्नुपर्छ आज’— बल्ल बस स्टार्ट गरे गुरुजीले।

‘अहिल्यै त्यस्तो मातेको छस्, अझै कति मात्तिने?’ उताबाट आवाज आयो। अब भने हाम्रा गुरुजी सोमरसमा मग्न छन् भन्नेमा शङ्का रहेन कुनै।

बसले गति त लियो। बसको भन्दा अझ द्रुत गतिमा चलिरहेछ हाम्रो मुटु।

जिन्दगी बित्थामा बित्ने भयो। एउटा हुँडलो चलिरह्यो।

सडक जस्तो छैन सडक, सवारी साधन जस्तो छैन बस, समिति, सिन्डिकेटहरू बनाएर पैसा कुम्ल्याउन उद्यत छन्, व्यापारीसँग कपाल कन्याएर सपना पुरा गर्दैछन् नेता र अधिकारकर्मी। प्रणाली नभएको ठाउँमा ‘प्रणाली’ भनेको असफल यन्त्र हो। असन्तुलित र मूर्ख मानसिकताले मात्र हाँक्न सक्छ केही कुरा। हरेक कुरा अनियन्त्रित भएपछि मात्र निस्कन सक्छ नौलो गति र परिणाम।

बेला बेलामा लाग्छ गुरुजीको असामान्य व्यवहार देश अनुसारको भेष भएको छ। सडक जस्तो छैन सडक, सवारी साधन जस्तो छैन बस, समिति, सिन्डिकेटहरू बनाएर पैसा कुम्ल्याउन उद्यत छन्, व्यापारीसँग कपाल कन्याएर सपना पुरा गर्दैछन् नेता र अधिकारकर्मी। प्रणाली नभएको ठाउँमा ‘प्रणाली’ भनेको असफल यन्त्र हो। असन्तुलित र मूर्ख मानसिकताले मात्र हाँक्न सक्छ केही कुरा। हरेक कुरा अनियन्त्रित भएपछि मात्र निस्कन सक्छ नौलो गति र परिणाम। ठुलो प्राप्ति खोज्नेले खतरा त मोल्नै पर्छ। आँखा चिम्लेर मात्र हिँडिन्छ भने कुनै न कुनै बेला अनपेक्षित नतिजा अवश्यम्भावी छ। 

बसको गति झन् झन् बढ्दो छ, बाटो भने भरथिलो छैन। चार जना गोरा पर्यटक लुखुर लुखुर हिँडिरहेछन्। सायद छुक्साङतिर जाँदै थिए होलान्। अलि वरैबाट कान नै पड्कने गरी हर्न बजाए, बजाइरहे। उनीहरू भित्ता पट्टिको धुपीको हाँगा समातेर अडिए। गुड्दागुड्दैको बसबाट पछिल्लो गोरेको ह्याट नै थुते टाउकाबाट। सबैभन्दा अगाडिको गोरेको पिठ्युँमा भने ड्याम्म पड्काए। दुवै आत्तिए र रिसाउँदै लखेटे। बस भने कुदेर निक्कै पर पुगिसकेको थियो। पत्यौल धुलोमा रङ्गिदै ठुलो ठुलो स्वरमा कराउँदैथे ती पर्यटकहरू। हाम्रा गुरुजी भने लुटेको रातो ह्याट पहिरेर हेय दृष्टिले हेर्दै थिए हामीलाई।

उपहासका पात्र होइन, पाहुना हुन् भन्ने सबैले नबुझेसम्म कहाँ आउँछन् पर्यटक घुमफिर गर्न। हेपाहा र लुटाहाहरूको चपेटामा रहेछ देश भनिदिए उनीहरूले भने कसरी आउलान् थप पर्यटकहरू।

पर्यटन उद्योग एउटा मात्र राम्रो चलाउन सकियो भने पुरै परिवर्तन हुन्छ देशको अनुहार, तर, हामी भने टोक्ने कुकुरहरू ढोकामा उभ्याएर पाहुना बोलाउने ललनी गाइरहेछौँ।

अलि परैबाट देखियो छुक्साङ। अब दस मिनेट बाँच्न पाइयो भने त जितिन्थ्यो होला जिन्दगीको ठुलै युद्ध ठान्यौँ हामीले।

भिरालो तर मोडमा छ बस। बल लगाएर मोड्न खोज्दैछन् गुरुजी। अलिकति नमोडिए खोलामै खुर्मुरिन ठिक्क छ बस। रक्सीको मातले ज्यान र मन नियन्त्रणमा छैन गुरुजीको। मोड्न खोज्छन्। निदाए जस्तो गर्छन्। जिन्दगी सकिएकै हो रहेछ—फेरि सोच्दैछौँ हामी।

‘अलि यताबाट मोड्नुपर्छ कि?’ ठुलै साहसका साथ बोल्नुभयो मित्र।

‘म ड्राइभर कि तिमी? ड्राइभरलाई सिकाउने तिमी को हौ? कि तिमीले नै किनेका हौ बस? छोडिदिउँ ब्रेक र स्टेरिङ? हातै छोडेर निकाल्न थाले कर्कशा स्वर।
‘भो भो उहाँको गल्ती भो’ ड्राइभर साहेब, जसरी चलाउन पर्ने हो त्यसै गरी चलाउनुहोस् हजुरले। हामी जस्ता केही थाहा नपाएका पेसिन्जरको कुरा नसुन्नुहोस्, प्रभु’— हातै जोडे हामीभन्दा दुई सिट पछाडि बस्ने लामा दाइले।

गुरुजीले भएभरका आमाचकारी गाली जोडेर भुतभुताइरहे। गौतम बुद्ध पनि रिसाउँथे होला त्यस्तो व्यवहारले। हामी चुप रहनुबाहेक केही उपाय थिएन।

बल्ल मोडियो बस। ठाउँ कुठाउँ रोकिरहने, दौडाउँदा आँखा नै नहेर्ने राष्ट्रिय रोग हो, सार्वजनिक सवारीका गुरुजीहरूको।

छुक्साङको झोलुङ्गे पुलनजिकै बिसौनीमा रोकियो बस। बस रोकिनु के थियो हराइसकेको सुनौला जिन्दगी भेटिएको महान् उत्सव मनाइरहे झैँ लागिरहेथ्यो हामी सबैलाई। बसबाट ओर्लनेबित्तिकै लमतन्न परेर लड्यौँ हामी खोलाकै किनारमा।

‘हामी त दाइ कुनबेला आइपुग्छ भनेर कुरिरहेको, तताउने होइन त ज्यान?’ दुई प्रहरीले दुईतिरबाट छाँद हाले गुरुजीलाई।

‘जाऔँ जाऔँ डोल्माको भट्टीमा, म भएपछि केको चिन्ता छ र।’ अघि अघि लागे गुरुजी।

राजधानीका डन र मोफसलका गुरुजी उस्तै उस्तै रहेछन्। अख्तियारी पाएको प्रत्येक नेपाली त्यस्तै बन्दै गएको देख्दैछु म अचेल। स्थान पाउनेबित्तिकै अरूलाई लखेटिहाल्नुपर्ने मानसिकता। पदेन विद्वान् बन्ने प्रवृत्ति। त्यस्तो किन नहुन् बरा। राजधानीका डनहरूले नेता र पार्टी पालिरहेछन्। राजधानीइतरका डनहरूले प्रहरी, प्रशासन र शक्तिकेन्द्रलाई सुमसुम्याइरहेछन्।

बिचरा जनताहरूको प्रत्येक क्षण मृत्युका पञ्जाहरूबाट फुत्कने प्रयास जारी छ।

मान्छे भएर मान्छे जस्तो निर्धक्क बाँच्न कहिले पाइएला ख्वै?

थिलथिलो भएर थाकेको शरीर सुमसुम्याउँदै तर्दैछौँ हामी छुक्साङको झोलुङ्गे पुल। आफ्नै खुट्टाले हिँडेका प्रत्येक क्षण आधार क्षेत्र हुँदा रहेछन् विजयको।

पैदल यात्राले जगाउँदैछ बरु आशाको पिलपिले दियो। परबाट खुर्मुरिँदै आएको एउटा गाडीलाई हेर्न पनि मन लागेन र विपरीत दिशातिर मोडेंँ मलिन अनुहार।

बाँचियो, धन्न बाँचियो, थकित शरीरमा पलायो बाँचेको मिठो उमङ्ग। तनभन्दा धेरै थाकेको छ मन।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. दामोदर पुडासैनी किशोर
लेखकबाट थप
लेनिन र पुटिन सँगै भेटिने शहर
एक घर एक गाउँ!
मृतसञ्जीवनी किनारमा मृत्युका छायाँहरू
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
झापामा कोभिडका आठजना सङ्क्रमित फेला मंगलबार, असार १७, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता मंगलबार, असार १७, २०८२
२८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला मंगलबार, असार १७, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइनेछः मन्त्री भण्डारी मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्