चितवन– एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी, नेकपा एसलगायतका दलले गरेको पार्टी एकीकरणलाई १० कोठे टहरो बनाएको टिप्पणी गरेका छन् ।
'अलग-अलग कोठामा बसेका हाम्रा भूतपूर्व साथीहरूले अब हुने निर्वाचनहरूमा आफ्नो अस्तित्व जोगिन्न कि भनेर एउटा १० कोठे टहरो बनाएका छन्,' नेता थापाले भने ।
एमाले चितवनले शनिबार दिउँसो नारायणगढको पोखरा बसपार्कमा आयोजना गरेको सभामा बोल्दै नेता थापाले एमाले मूलघर भएका कारण सबैलाई फर्कन अपिल पनि गरे ।
निर्वाचन हैन, संसद् पुनर्स्थापनामा एमालेले जोड दिएको उनले बताए । 'निर्वाचित सरकार र संसद् जसरी भंग गरेर फागुनमा निर्वाचन गर्ने भनिएको छ यो सामान्य निर्वाचन हैन । विदेशी शक्ति केन्द्रले नेपालमा आफ्नो अनुकूलको सरकार र संसद् ल्याउन यसो गरिरहेका छन्,' थापाले भने ।
उनले घोषित निर्वाचन नौटंकी र विदेशीको 'हनी ट्र्याप' भएको बताए । 'उनीहरू यहाँका स्थापित पार्टीलाई गलाउने, समर्पण गराउने ताकमा छन् । फागुन २१ अघि सुशीला कार्कीले दलका नेतृत्वलाई समाउने छिन् । त्यसो नगरे उनलाई पनि हटाएर भनेको मान्ने अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने विदेशीको योजना हो,' उनले भने, 'त्यसैले हामी संसद्को पुनर्स्थापना भनिरहेका छौं ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।