काठमाडौं– चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि खेलाडीको प्रशिक्षण आज मंगलबारदेखि सुरू हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्सको तयारीस्वरूप विभिन्न खेलको प्रशिक्षण मंगलबार सुरू हुने जनाएको हो।
चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन गेम्स कोरोना महामारीका कारण २०२३ सम्मका लागि स्थगित भइसकेको छ।
१० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता लागि नेपालले समेत आफ्नो तयारी सुरू गर्ने तयारीमै थियो। तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारीसमेत प्रभावित भएको थियो।
तर, राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीले एसियन गेम्सका लागि प्रशिक्षण थाल्न सिफारिस गरेको थियो। कमिटीको सिफारिस अनुसार राखेपले खेलाडीलाई प्रशिक्षणमा राख्न लागेको हो।
पहिलो चरणलाई छनोट भएका २३ खेलका खेलाडीको प्रशिक्षण मंगलबार सुरु गरिने छ। सरकारले एसियन गेम्समा २३ खेल समावेश गर्ने निर्णय गरेको छ।
नेपालले एसियन गेम्समा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरूष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागिता जनाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।