डडेलधुरा– अछाममा एक किशोरको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि अनुसन्धानका लागि सीआईबीको टोली खटाइएको छ।
प्रदेश प्रहरी कार्यालयले डीएसपी मनोहर भट्टको नेतृत्वमा सीआईबी टोली पठाएको हो। शनिबार डीएसपी भट्टको नेतृत्वमा ६ जनाको टोली अछाम पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआईजी मोहन आचार्यले जानकारी दिए।
‘डीएसपी मनोहर भट्टसहित ६ जनाको सीआईबी टोली अछाम पठाइएको छ। तालिमप्राप्त तकुकुरसहितको टोली पठाइएको हो’, डीआईजी आचार्यले भने।
शनिबार नै जिल्ला प्रहरी कार्यालय बाजुराबाट इन्स्पेक्टर सन्दीप शाह नेतृत्वको २५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप छोली घटनास्थलमा परिचालन गरिएको थियो।
जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही शनिबार घर नजिकै मृत अवस्थामा फेला परेका थिए। उनी पञ्चदेवल विनायक–४ कै कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका थिए।
त्यसपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो । प्रशासनविरुद्ध स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गर्नुपरेको थियो।
केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो। एमालेले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएपछि अवस्था असहज बन्दै गएको स्थानीयले बताएका छन्।
किशोरको हत्या भएको आशंका गरिएको छ। स्थिति तनावग्रस्त बनेपछि बिदामा काठमाडौं पुगेका अछामका डीएसपी रविराज थपलिया जिल्ला फर्केका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।