काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी र विश्व बैंक)को संयुक्त आयोजनामा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा कार्यक्रम सम्पन्न भएको छ।
नेपालमा अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका घरेलु, लघु, साना तथा मझौला उद्यमहरू वित्तीय साधनको पहुँचमा पुग्न कठिन हुनुले त्यसको विकास र विस्तारमा बाधा आइपरेको गुनासो आएपछि विविधिकरणलाई प्रोत्साहन गर्न सिविफिन र आइएफसीले उक्त कार्यक्रमको आयोजना गरेका हुन्।
नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरूको क्रेडिट ग्याप करिब ३.६ अर्ब रूपैयाँ रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ। विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रम शक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको अति महत्वपूर्ण योगदान हुँदासमेत घर जग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्दै आइरहेका छन्।
यसै विषयलाई मध्यनजर गर्दै सुरक्षित कारोबार ऐनमा भएका व्यवस्थाहरूको सुधार गर्दै बैंक तथा वित्तीय संस्थालाई कर्जा विविधिकरण गर्न प्रोत्साहन गर्नु र नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचमा सहयोग पुर्याउनु उक्त कार्यक्रमको उद्देश्य थियो।
अहिलेको उन्नत बजारमा चल सम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तिका लागि धितोको प्राथमिक आधारको रूपमा प्रयोग गर्ने आइएफसी विश्व बैंकका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकर एस फायले बताए।
उनले हाल प्रचलित चल धितो सम्पत्तिले वित्तीय एवम् आर्थिक विकास र कर्जाको जोखिम एवम् कर्जा लागत न्यूनीकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई)हरूको वित्तीय पहुँच बढाउन मद्दत पुर्याउने बताए।
सिविफिनका अध्यक्ष पवनकुमार गोल्यानले चालू धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवम् पूर्वाधार विकास कम्पनीहरूको वित्तीय पहुँचसहित विकास एवम् विस्तारमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।
उनले लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवम् वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको वृहत उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुट भएर चल धितो सम्पतिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी विश्व बैंक) का विषय विज्ञहरूले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यवसायिक उदाहरणहरू प्रस्तुत गर्दै नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरू प्रस्तुत गरे।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सहभागिता जनाएका प्रतिनिधिहरूले नेपालमा सुरक्षित कारोबार, चल धितो सम्पत्ति र वित्तीय पहुँच अभिवृद्धिका विषयमा थप जानकारी दिएको र कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताएका थिए।
यस कार्यक्रममा आइएफसीका उच्च अधिकारी तथा विज्ञ, सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा संचालक, बैंक तथा वित्तीय संस्थाका सम्बन्धित उच्च अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र कानुनी विज्ञहरूको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।