काठमाडौं– सरकारले आगामी आर्थक वर्ष २०७९/०८० को बजेट संघीय संसद्मा पेस गरेदेखि आरोलो लागेको सेयर बजार साप्ताहिक कारोबारको तेस्रो दिन (बुधबार) पनि घटेको छ।
बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.१९ अंकले घटेर २१३०.७३ विन्दुमा ओर्लिएको छ। यस्तै, 'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ इन्डेक्स पनि १.१६ अंकले घटेर ४१४.४७ विन्दुमा पुगेको छ।
बुधबार कारोबारमा आएकामध्ये ३ वटा मात्रै समूहको उपसूचक उकालो लागेको छ। बुधबार जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको उपसूचक उकालो लागेका छन्। अन्य १० समूहको उपसूचक भने ओरालो लाग्यो। सबैभन्दा बढी व्यापार समूहको उपसूचक १.८३ र जीवन बिमा समूहको उपसूचक १.५ प्रतिशतले घट्यो।
बुधबार धेरै कम्पनीको सेयरमूल्य बढेपनि उच्च पुँजीकरण भएका कम्पनीको मूल्य घट्दा त्यसको असर समग्र परिसूचकमा देखिएको हो। बुधबार कूल १०१ कम्पनीको सेयर मूल्य बढ्यो भने ८४ कम्पनीको सेयरमूल्य घट्यो। यस्तै, १० कम्पनीको सेयरमूल्य बुधबार स्थीर रह्यो।
बुधबार सबैभन्दा बढी मैलुङ खोला जलविद्युत्को मूल्य १० प्रतिशतले बढ्यो। यस्तै, बलेफी हाइड्रोको मूल्य ९.९ प्रतिशत बढ्यो।
बुधबार शिखर इन्सुरेन्स कम्पनीको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घट्यो। यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेठको मूल्य पनि ७.२५ प्रतिशतले घट्यो।
बुधबार २२७ कम्पनीको ३ लाख २ हजार ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।