काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा अधिकांस मन्त्रालयको बजेट चालु आर्थिक वर्षको तुलनामा घटाइएको छ। मुख्य १३ मन्त्रालयमध्ये आठ मन्त्रालयको बजेट घटाइएको छ।
बजेट घटाइएका मन्त्रालयमा उद्योग/वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था/सहकारी तथा गरिबी निवारण, वन तथा वातावरण मन्त्रालय छन्। त्यसैगरी श्रम/रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पनि घटाइएको छ।
बजेट बढाइएका मन्त्रालयमा कृषि तथा पशुपन्छी विकास, शिक्षा विज्ञान तथा प्रविधि, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ। यो मन्त्रालयका लागि चालु आर्थिक वर्षको भन्दा १० अर्ब ८८ करोड रुपैयाँले बजेट बढाइएको हो। चालु आर्थिक वर्षमा यस मन्त्रालयको लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ एक खर्ब ९६ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो बजेट चालु आर्थिक वर्षको भन्दा १० अर्ब ६५ करोड रुपैयाँले बढी हो। चालु आर्थिक वर्षको लागि यस मन्त्रालयलाई एक खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट पनि चालु आर्थिक वर्षको भन्दा बढेको छ। चालु आर्थिक वर्षभन्दा यो मन्त्रालयको बजेट ५७ करोड रुपैयाँले बढेको हो। चालु आर्थिक वर्षमा १ अर्ब २० करोड रुपैयाँ बजेट पाएको मन्त्रालयले आगामी आर्थिक वर्षको लागि १ अर्ब ७७ करोड रुपैयाँ पाएको छ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पनि चालु आर्थिक वर्षको भन्दा बढाइएको छ। चालु आर्थिक वर्षमा एक खर्ब ५६ अर्ब रुपैयाँ बजेट पाएको यस मन्त्रालयले आगामी वर्षको लागि एक खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ पाएको छ। यस मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा ३ अर्ब ४४ करोड रुपैयाँ धेरै हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तर्फको पनि बजेट चालु आवको भन्दा १ अर्ब १२ करोड रुपैयाँले बढाएर विनियोजन गरिएको छ। चालु आवमा ७ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको यस मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यी मन्त्रालयको घटाइयो बजेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।