काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमार्फत ६ वटा महानगरपालिकालाई विभिन्न अनुदान शीर्षकमा १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट दिने भएको छ। सबैभन्दा बढी अनुदान पाउनेमा पाेखरा महानगरपालिका छ।
सरकारले यो वर्ष केन्द्रीय राजधानी रहेको काठमाडौ महानगरभन्दा पोखरालाई धेरै रकम अनुदान दिने भएको हो। केन्द्र सरकारले समानीकरण अनुदान शीर्षकमा ३ अर्ब ३९ करोड ५५ लाख, सर्शत अनुदान शीर्षकमा ६ अर्ब ५५ करोड ८४ लाख, विशेष अनुदान शीर्षकमा १५ करोड ३० लाख र समपुरक अनुदान शीर्षकमा २० करोड ६० लाख रुपैयाँ पठाएको हो।
अर्थमन्त्री जनार्दन शर्माले सोमबार संघीय संसदमा बजेट पेश गर्दै अनुदानको रकम विनियोजन गरेको उल्लेख गरेका थिए। बढी पाउनेको तेस्रो नम्बरमा भरतपुर महानगरपालिका छ। माओवादी केन्द्रले मेयर जितेको उक्त महानगरका लागि १ अर्ब ८० करोड अनुदान दिइएको छ।
कुन महानगरपालिका लागि कति अनुदान?
काठमाडौ महानगरपालिका : २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ
ललितपुर महानगरपालिका : १ अर्ब २१ करोड ८९ लाख
भरतपुर महानगरपालिका : १ अर्ब ८० करोड २४ लाख ४ रुपैयाँ
पोखरा महानगरपालिका : २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ
विराटनगर महानगरपालिका : १ अर्ब २१ करोड ८५ लाख
विरगञ्ज महानगर पालिका : १ अर्ब ४४ करोड ८६ लाख
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।