काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बारा जिल्लामा बन्ने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालीहरुको सपना भएको बताएका छन्।
सर्वोच्च अदालतले विमानस्थल निर्माण रोक्न आदेश दिएको भए पनि आइतबार मन्त्री शर्माले सार्वजनिक गरेको आगामी अर्थिक वर्षको बजेटमा उक्त विमानस्थललाई बजेट विनियोजन गरेपछि त्यसको वचाउ गर्दै उनले यस्तो बताएका हुन्।
सर्वोच्चले वातावरण प्रभाव मूल्यांकन समेत कपिपेष्ट भएको भन्दै रोक लगाएको थियो। सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक नभएकाले उक्त विमानस्थलको भविष्य अन्योलमा रहेको छ।
सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्ता आयोजनाहरु नेपालले आफ्नै लगानीमा बनाउनु पर्ने बताए।
मन्त्री शर्माले चितवन जाने छोटो बाटो र सगरमाथा जस्ता पर्यटकीय क्षेत्र जानका लागि छोटो बाटो निर्माण गर्दा पर्यटक बढेर नेपालको विकास हुने तर्क गरे।
‘सगरमाथा नजिकमै गएर हेर्न रहर होला। नजिकै गएर सेल्फी खिच्ने लक्ष्य होला’, उनले भने, ‘त्यसैले सगरमाथा, मनाङ र मुस्ताङलाई लक्ष्य बजेटबाट बनाएका छौं।’ उनले मौसम परिर्वतनले ल्याएको चुनौतीमा काम गर्न सरकारले मात्र सम्भव नहुने भएकाले निजी क्षेत्रलाई पनि आह्वान गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।