काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्र उत्साही हुने गरी सरकारले आर्थिक वर्ष २०७९/८०का लागि बजेट ल्याएको दाबी गरेका छन्। बजेट सार्वजनिक गरेको भोलिपल्ट अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अब धमाधम उद्योगहरु खुल्ने बताए।
‘निजी क्षेत्रलाई उत्पादनलाई उत्साही बनाउने अनावश्यक बस्तु ल्याउनका लागि होइन, यही कारण उनीहरुको माग बजेटमा सम्बोधन गरेका छौं’, उनले भने, ‘हामीले सिमेन्ट ,डण्डीदेखि नेपालमा उत्पादन हुने बस्तुहरुलाई महत्त्व र प्राथमिकता दिएका छौं।’
बजेटमा बोल्नेमात्र ठूलो कुरा नभई यसले राष्ट्र निर्माणको कुरा पनि गर्ने भन्दै नीति तथा कार्यक्रमले निर्दिष्ट गरेको बाटोमा बजेट आएको बताए।
बजेटबाट गरिबीको अन्त्य र गाउँमा रोजगारी सँगै स्रोत साधनको सही परिचालन पनि भएको उनको दाबी छ।
बजेटमा सवै कुरा लक्ष्यसहित तोकेर राखिएको र सरकारलाई कार्यान्वयनको चुनौती पनि रहेको उनको भनाइ थियो।
उनले सरकारदेखि कर्मचारी संयन्त्रसम्ममा यसको कार्यान्वयनमा चुनौती रहेको बताए। यसलाई समग्र उत्पादन र गरिबी निवारणसँग पनि लिनुपर्ने अर्थमन्त्री शर्माले बताए। उनले समयको बचत र समयमै काम गर्ने कुरा अहिलेको बजेटले व्यवस्था गरेको दाबी गरे। ‘अव पनि पूरा नगरे कहिले गर्ने ’ उनले भने ‘सवै क्षेत्र सरकारले मात्र गर्न सक्दैन त्यसैले केही द्रूतमार्ग बनाउन निजी क्षेत्रसँग पनि सहकार्य गर्ने भनेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।