काठमाडौं- ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको संख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन्।
बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ। उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ। उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्याङ्कन गर्न सोमबार रेसिफ को भ्रमण गर्ने उहाँले ट्वीटरमार्फत् प्रेषित एक सन्देशमा जानकारी गराएका छन्।
छिमेकी राज्य अलागोसमा बाढीका कारण दुई जनाको मृत्यु भएको र करिब सात हजार विस्थापित भएको जनाइएको छ भने अन्य छिमेकी राज्यहरूमा पनि अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोले जनजीवन प्रभावित बनाएको छ। पर्नाम्बुको नौ नगरपालिकामा स्थानीय तहले आपतकालीन अवस्था को घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।