काठमाडौं–नेपाल उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष एवम् व्यवसायी भवानी राणाले बजेट कार्यान्वयनको पक्ष चुनौतीपूर्ण नै हुने बताएकी छन्। सरकारले ल्याएको बजेटका बारेका संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन्।
‘बजेटमा निजी क्षेत्रले उठाएका केही विषय समेटिएका छन्। तर, कार्यान्वयनको पक्ष नै महत्वपूर्ण हो,’उनले भनिन्, ‘कार्यान्वयन भएमा त्यो राम्रो नै हुनेछ। नत्र त यसअघि पनि यी विषय समेटिँदै आएका थिए।’
उनले कार्यान्वयन कसरी हुन्छ भन्ने विषय हेर्न बाँकी नै रहेको प्रष्ट पारिन्। स्वदेशी उत्पादनलाई प्रबन्धन गर्नेदेखि जग्गाको हदबन्दीलगायतका विषयमा केही विषय समेटिएको भन्दै उनले निजी क्षेत्रले उठाएका विषय केही समेटिएको बताइन्।
विगतजस्तो नहोस्
पूर्वअध्यक्ष राणाले विगतका वर्षमा पनि केही नेपाली उद्योगहरुलाई सहुलियत दिने घोषणा भएको तर कार्यान्वयन नभएको भन्दै यस वर्ष पनि त्यस्तै नहोस् भनिन्।
‘अहिलेको बजेटमा निजी क्षेत्रका धेरै कार्यक्रम समावेश भएका छन्। ऊर्जा, शिक्षा र कृषिमा राम्रा कुरा आएका छन्,’ उनले भनिन्, ‘विदेशीहरुले अपार्टमेन्ट खरिद गर्न पाउने कुरा राम्रो छ।’
आत्मनिर्भर उद्योगहरुलाई सहुलियत दिने कुरा राम्रो भएको र नेपालमै आत्मनिर्भर रहेको जुत्ता, फलाम र सिमेन्ट उद्योगहरुलाई प्रोत्साहन दिने कुरा बजेटको राम्रो पक्ष भएको उनले बताइन्। ‘अझै धेरै आशा थियो। पर्यटनसम्वन्धी कुरा केही छुटेका छन्,’ उनले भनिन्। स्वदेशी उत्पादनलाई विस्तार गर्ने र संरक्षण गर्ने कुरा पहिला पनि आएका र यसपटक पनि समावेश भएकाले अब कार्यान्वयनको आशा रहेको उनले बताइन्।
बजेट निर्माणका क्रममा उद्योग वाणिज्य महासंघले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर नै सुझाव दिएको थियो। आफूहरुले दिएका धेरै सुझाव समेटिएको उनले बताइन्। सरकारले उद्योग स्थापनाका लागि ५० वर्षसम्म सरकारी जग्गा लिजमा दिने जस्ता कुराहरु सकारात्मक भएको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।