काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार सर्वाधिक पारिश्रमिक लिनेमध्येका कलाकार हुन्। भारतीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टकाअनुसार उनी प्रतिफिल्म एक सय करोडदेखि ११० करोड भारतीय रुपैयाँसम्म पारिश्रमिक लिने गर्छन्।
तर, पछिल्लो पटक उनको अभिनय रहेको फिल्म ‘बच्चन पाण्डे’को असफलतापछि भने उनले आफ्नो पारिश्रमिक घटाएका छन्।
अक्षयको ‘बच्चन पाण्डे’ फिल्म गत महिना मार्च १८ मा प्रदर्शनमा आएको थियो। १८० करोड भारतीय रुपैयाँमा निर्माण भएको फिल्म बक्स अफिसमा नराम्रोसँग असफल भयो।
फिल्मले ६८ करोड भारतीय रुपैयाँको मात्रै आम्दानी गर्न सकेको थियो। फिल्म असफल भएसँगै अक्षयले आफ्नो पारिश्रमिक घटाएका छन्।
अक्षयले हालसालै सार्वजनिक रुपमा एक कार्यक्रममार्फत अब आफूले सय करोडभन्दा कम पारिश्रमिक लिने घोषणा गरेका छन्। उनले दक्षिण भारतीय फिल्ममाथि आधारित रहेर बनिरहेका रिमेक हिन्दी फिल्म ‘सेल्फी’ र ‘सुराराई पोत्रू’का लागि एक सय करोडभन्दा कम पारिश्रमिकमा काम गर्ने भएका छन्।
अक्षय अहिले ‘पृथ्वीराज’ फिल्मको प्रचारमा जुटेका छन्। यो फिल्म जुन ३ बाट प्रदर्शनमा आउँदै छ। यो बाहेक अक्षयका ‘रक्षा बन्धन’, ‘राम सेतु’, ‘ओ माइ गड २’लगायतका फिल्महरू प्रदर्शन हुन लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।