काठमाडौं– विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले रुसी र बेलारुसी खेलाडीलाई विम्बल्डनमा प्रतिबन्ध लगाउने निर्णय गलत रहेको बताएका छन्।
सर्बियाका टेनिस खेलाडी नोभाकले विम्बल्डन आयोजकको आलोचना गर्दै सञ्चारको अभाव रहेको बताए।
जोकोभिचले भने, ‘मेरो विचारमा यो गलत निर्णय हो। म यसलाई समर्थन गर्दिनँ। यो सबैको लागि नराम्रो अवस्था हो।’
रुसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो। जसपछि अल इङ्गल्याण्ड क्लबले जुन २७ देखि सुरु हुने विम्बल्डन ग्रान्ड स्लाम प्रतियोगिताका लागि रुस र बेलारुसका खेलाडीहरूलाई प्रतिबन्ध लगाएको थियो।
यता, जोकोभिचले विम्बल्डनको नतिजाबारे एटीपीले वरीयता नदिने निर्णयलाई समर्थन जनाएका छन्।
शुक्रबार एटीपी र डब्ल्यूटी वुमेन्स टुरले विम्बल्डनमा कुनै पनि खेलको नतिजाका लागि खेलाडीहरूको वरीयता निर्धारण नगर्ने जनाएको थियो।
जोकोभिचको यसअघि पनि एटीपी व्यवस्थापनसँग झगडा भएको थियो। तर, अहिले उनले यस निर्णयप्रति समर्थन जनाउँदै भनेका छन्, ‘एटीपीले यो कदम चालेकोमा म खुशी छु।’
एटीपीले २०२१ विम्बल्डनमा वरीयता हासिल गर्ने सबै खेलाडीको रेकर्ड हटाइने बताएको छ। यो निर्णयले जोकोभिचको नम्बर १ को पकडलाई असर गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।