काठमाडौं– कमनवेल्थमा दुईपल्ट तथा विश्व च्याम्पियनसिपमा तीनपल्ट स्वर्ण जितेकी दक्षिण अफ्रिकी एथलेटिक्स खेलाडी कास्टर सेमेन्याले आफूलाई महिला खेलाडी सावित गर्न ‘प्राइभेट पार्ट’ देखाउनु परेको खुलासा गरेकी छन्।
अंग्रेजी च्यानल एचबीओ रियल स्पोर्ट्सलाई अन्तर्वार्ता दिने क्रममा उनले ‘जेन्डर टेस्ट’का लागि ‘प्राइभेट पार्ट’ देखाउनु परेको बताएकी हुन्।
उनको यो खुलासापछि एथलेटिक्समा ‘जेन्डर टेस्ट’ एकपटक फेरि प्रश्नको घेरामा परेको छ।
उनले अन्तर्वार्तामा भनिन्, ‘जतिबेला म १८ वर्षकी थिएँ। त्यतिबेला मैले आफूलाई महिला प्रमाणित गर्न ट्रयाक अफिसियललाई आफ्नो ‘प्राइभेट पार्ट’ देखाउनु परेको थियो।’
उनले यसका लागि एथलेटिक्सको सर्वोच्च निकाय नै दोषी भएको आरोप लगाइन्। सेमेन्याले बर्लिनमा आयोजना भएको सन् २००९ को विश्व च्याम्पियनसिपको घटना सुनाउँदै भनिन्, ‘त्यतिबेला म १८ वर्षको थिएँ। त्यहाँ मैले ८ सय मिटरमा स्वर्ण जितें। यो मेरो पहिलो ठूलो जित थियो। तर, मेरो प्रदर्शन र शारीरिक बनोट देखेर मलाई ‘जेन्डर टेस्टिङ’ गर्न भनियो। ट्रयाक अफिसियललाई म पुरुष हुँ भन्ने लागेको रहेछ।’
सेमेन्याको त्यतिबेला उत्तर थियो, ‘ठिकै छ। म महिला हुँ। मलाई यसले फरक पार्दैन। यदि तपाईंहरू मेरो गुप्त अंग नै हेर्न चाहनुहुन्छ भने।’
विश्व च्याम्पियनसिप जितेपछि उनलाई शरीरभित्र रहेको उच्च ‘टेस्टोरोन’ को मात्र कम गर्न अर्को औषधी लिन बाध्य पारिएको थियो। ‘उनीहरूले मलाईं बाध्य पारिएको औषधीको सम्पूर्ण जानकारी सार्वजनिक गर्न सकिरहेका छैनन्,’ उनले भनिन्। उनलाई ‘हाई टेस्टोरोन’ कम गर्न गर्भनिरोधक औषधी दिएको आशंका गरिएको छ।
यसैबीच, विश्व एथलेटिक्स महासंघका वकिल जोयथन टेलरले औषधीको बचाउ गरेका छन्। उनले ‘हाई टेस्टोरोन’का लागि महिला खेलाडीलाई ‘प्रेसक्राइब’ गर्ने बताएका छन्। तर, सेमेन्याले जोयथनलाई प्रतिउत्तर दिँदै भनिन्, ‘उनले आफ्नो जिब्रो काटेर फ्याँक्दा हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।