काठमाडौं– जेठ १४ गते हुने भनिएको बलिउड अभिनेता सलमान खानको कार्यक्रम ‘द ब्याङ टुर’ स्थगित भएको छ। ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्ने घोषणा गरेको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको हो।
खानलाई नेपाल ल्याउने घोषणा गरेको ओडिसीले जेठ १४ गते शनिबार काठमाडौंको दशरथ रंगशालामा ‘द ब्याङ टुर’ कार्यक्रम गर्ने भनेको थियो। सो कार्यक्रमको विषयलाई लिएर सलमानका भाइ तथा व्यवस्थापनको जिम्मा लिएका सोहेल खानले नेपाल आइ पत्रकार सम्मेलन पनि गरेका थिए।
नेपालका पर्यटनमन्त्री प्रेम कुमार आले सम्मले खानसँग भिडियो संवाद गर्दै उनी नेपाल आएमा पर्यटन प्रवर्द्धन हुने बताएका थिए।
तर, कार्यक्रम हुन चार दिन बाँकी रहँदा कार्यक्रम स्थगित भएको छ। आयोजक ओडिसी इन्टरटेनमेन्ट निकट स्रोतकाअनुसार आर्थिक सम्झौताको विषयमा कुरा नमिल्दा कार्यक्रम स्थगित भएको हो।
यसअघि पनि ओडिसीले सलमानलाई नेपाल ल्याउने भन्दै टिकट बेच्दै अन्तिम समयमा कार्यक्रम स्गथित गरेको थियो। १० वर्षअघि नेपालमा गायक ब्रायन एडम्सलाई ल्याएर भव्य कार्यक्रम गरेको ओडिसीले पछिल्लोपटक पनि सलमानलाई नेपाल ल्याउने भन्दै टिकट बेच्न सुरु गरेको थियो।
५ हजार, १० हजार र २५ हजारका विभिन्न टिकटहरु बेचिसकेको ओडिसीले अन्तिम समयमा कार्यक्रम नगर्ने भएको हो।
कार्यक्रम स्गथित भएको विषय ओडिसीले विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्ने तयारी रहेको ओडिसी इन्टरटेनमेन्ट निकट स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।