काठमाडौं- दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुने। राजाराम सिलवाल दोश्रो भए।
राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए।
उनले ६० केजी तौल उठाए। दीपक तिमल्सिना दोश्रो तथा सोमनाथ राई तेश्रो भए। ६५ केजीमा ठाकुर श्रेष्ठले शीर्ष स्थान हात पारे। उनले ९० केजी उचाले। निर्मल श्रेष्ठले रजत तथा विष्णुपुकार श्रेष्ठले कांस्य जिते। ७२ केजीमाथि किरणकिशोर सापकोटाले ९० केजी वजन उठाउदै स्वर्ण जिते। शरद पौडेल दोश्रो तथा भरत विसी तेश्रो बने।
महिला खुलामा सरिता थुलुङ पहिलो भइन्। सरिताले ५२ केजी भार वहन गरिन्। निर्मला भण्डारी दोश्रो तथा टिना महर्जन तेश्रो भए।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा सदस्य–सचिव घिसिङले पारा खेलकुदलाई अझ फराकिलो दायरामा आयोजना गर्ने गरी परिषद्ले तयारी गरिरहेको बताए।
एकदिने प्रतियोगिताको पुरुषमा ४ स्पर्धामा ३२ खेलाडी तथा महिलाको १ स्पर्धामा ५ खेलाडी सहभागी थिए। पारा राष्ट्रिय खेलकुदअन्तर्गत अब ५ खेलको प्रतियोगिता हुन बाँकी छ। खेलकुदमा १२ खेल समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।