काठमाडौं- चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइको सारजाह प्रस्थान गर्दैछन्।
जेठ १२ गते हुने प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। रञ्जनाले विश्व च्याम्पियनसिपसहित विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य जितेकी छन्।
टोली प्रमुखमा रामचन्द्र श्रेष्ठ र प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन्। पारा ओलम्पियन पलेशा गोबर्दन र सिर्जना घिसिङ विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए।
टोलीलाई सोमबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरियो । सो अवसरमा पैंक बाइकले प्रायोजन गरेको ट्रयाकसुट प्रदान गरिएको थियो। पैंक बाइकका प्रोप्राइटर टिरेक मानन्धरले टोलीलाई ट्रयाक सुट हस्तान्तरण गरे। पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र अमिर ब्लोनलाई पनि ट्रयाक सुट प्रदान गरिएको थियो। यसअघि पैंक बाइकले ४ पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षणमा आते–जाते गर्न सहज होस् भनी साइकल पनि सहयोग गरेको थियो। त्यस्तै केहि खेलाडीलाई आफ्नो संस्थामा रोजगारी पनि दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।