काठमाडौं– काठमाडौं महानगरपालिकाका सम्भावित मेयर बालेन शाहले अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको आफू फ्यान रहेको बताएका छन्। र्यापरसमेत रहेका शाहले फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन्।
राजधानीमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका उनले भने, ‘स्वस्तिमाजीको एक्सप्रेसन मलाई निकै मन पर्छ। उहाँ नबोल्दा पनि फोटोले अभिनय गरिरहेको हुन्छ।’
अभिनेता अर्पण थापाका हरेक फिल्म आफूले हेर्ने गरेको उल्लेख गरे। आफू थापाको अभिनयको फ्यान रहेको बताउँदै थपे, ‘अघि पनि कुरा गरिरहेको थिएँ। अर्पण दाइको फिल्म मैले कुनै पनि छुटाएको छैन।’
कार्यक्रममा उपस्थित कलाकर्मीको प्रशंशा गर्दै उत्कृष्ट व्यक्तित्वहरुका माझ आफूमात्रै ‘अधकल्चो’ महशुस गरिरहेको बताए।
आफू काठमाडौं महानगरको प्रमुख निर्वाचित भएपछि कला क्षेत्रको प्रवर्द्धनमासमेत सहयोग गर्ने उल्लेख गरे। विशेष गरी इतिहास बोकेका विशेष फिल्म प्रवर्द्धन गर्ने उनको भनाइ थियो।
उनले नेपाली फिल्म अन्य भाषामासमेत डबिङ हुनुपर्नेमा जोड दिए। ‘कला एउटै हुन्छ, भाषा मात्रै फरक हो,’ उनले भने, ‘नेपाली फिल्म अरु भाषामा डबिङ किन नगर्ने ? नेटफ्लिक्स, प्राइमलगायतका प्लेटफर्ममा पनि नेपाली फिल्म जानुपर्छ।’
आफू जुन पेशामा पुगे पनि कलालाई मुटुमै राख्ने उनको भनाइ थियो। दिपेन्द्र के खनाल लिखित तथा निर्देशित फिल्म ‘चिसो मान्छे’को सोमबार ट्रेलर रिलिज भएको हो। बाजुराली भाषामा निर्मित फिल्म असार ३ गते प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।