काठमाडौं– प्रदर्शनको मिति नजिकिँदै जाँदा बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’ विवादमा तानिएको छ।
अक्षय कुमार, मानुषी चिल्लर, मानव भिज, सञ्जय दत्त, अलि फैजललगायतका कलाकारको अभिनय रहेको यो फिल्म ट्रेलर रिलिज भएपछि विवादमा तानिएको हो।
हालसालै फिल्मलाई लिएर गुर्जर महासभामा चर्चा भएको थियो। सभामा पृथ्वीराज चौहान, जसमाथि फिल्म बनेको छ, उनी राजपूत नभएर गुर्जर राजा भएकाले फिल्मको प्रदर्शन रोक्नुपर्ने बताइएको थियो।
त्यसपछि भारतको राजपूत समूदायको प्रतिनिधित्व गर्ने करणी सेनाले फिल्मको नाम परिवर्तन गर्नुपर्ने माग राखेको छ। फिल्मको नाम ‘पृथ्वीराज’बाट परिवर्तन गरेर ‘सम्राट पृथ्वीराज चौहान’ राख्नुपर्ने माग करणी सेनाले गरेको छ।
फिल्मलाई राजस्थानमा प्रदर्शन गर्न नदिइने करणी सेनाले चेतावनी दिएको छ । फिल्मको नाम परिवर्तन नभएमा फिल्मलाई पूरै राजस्थान राज्यमै प्रदर्शन हुन नदिइने बताइएको छ।
करणी सेनाले भनेको छ, ‘यदि फिल्मको निर्माण पक्षले यसको शीर्षक परिवर्तन गरेन भने यसलाई हामी पुरै राजस्थानमा प्रदर्शन हुन दिने छैनौं। हामीले राजस्थान राज्यका वितरकलाई पनि यो विषयमा चेतावनी दिइसकेका छौं। नाम परिवर्तन नभएमा फिल्मलाई यहाँ प्रदर्शन नगर्नु भनेका छौं।’
विवादमा घेरिएका कारण पृथ्वीराज तोकिएको समयमा प्रदर्शन हुने वा नहुने भन्ने अन्योल पनि थपिएको छ। ३ जुनमा प्रदर्शनमा आउन लागेको यो फिल्मलाई डा. चन्द्रप्रकाश द्वीवेदीले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।