दिपायल– कैलालीको धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा १८ महिनाका एक बालक बेपत्ता भएका छन्। दुर्घटनामा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
धनगढीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस शनिबार बिहान ५ बजेको समयमा डोटीको खिखर नगरपालिका–१ गेरुपानी (कालागाड)मा दुर्घटनामा परेको हो।
बस सडकबाट खसेर झण्डै ५० मिटर तल सेती नदीको किनारमा पुगेको थियो। दुर्घटनामा अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिना छोरा बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ।
बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बगेको हुनसक्ने प्रहरीको अनुमान छ। नदीमा बगेको आशंकासहित नदीमा बालकको खोजी गरिए पनि फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेर १२ जना घाइते भएकामा ३ जनाको अवस्था भने गम्भीर रहेको जनाइएको छ। गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ।
९ जना समान्य घाइतेको भने शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।