काठमाडौं– शुक्रबारबाट नेपालका सिनेमा हलमा तीन फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘लाइफ इन एलए’सँगै दुई हिन्दी फिल्म ‘धाकड’ र ‘भुलभुलैया २’ प्रदर्शनमा आएको छ।
नेपाली फिल्म ‘लाइफ इन एलए’लाई सूई एन श्रेष्ठले निर्देशन गरेका छन्। यो फिल्म प्रेमकथा र विदेशमा बस्ने नेपालीले भोग्ने पिडा र अनुभव गरेको परिस्थितिमा आधारित छ। फिल्ममा नेपालबाट अमेरिका पुगेर संघर्ष गर्ने नेपालीको कथा समेटिएको छ। फिल्ममा ब्यास बिसु, गौरव पहारी, बुद्धि तामाङ, अकेशा विष्ट र शिल्पा मास्के लगायतका कलाकारको अभिनय छ।
त्यस्तै, शुक्रबारबाटै हलमा बलिउड अभिनेत्री कंगना रणावतको अभिनय रहेको फिल्म ‘धाकड’ पनि प्रदर्शनमा आएको छ। यो फिल्म एक्सन थ्रिलर विधामा छ। फिल्ममा कंगनाले एक एजेन्टको भूमिका निभाएकी छिन्, जो अन्तराष्ट्रिय अपराधीलाई पक्राउ गर्न एक मिसनमा खटिएकी हुन्छिन्। फिल्ममा कंगनासँगै अर्जुन रामपाल र दिब्या दत्तको मूख्य अभिनय छ। फिल्मलाई रजनीस घईले निर्देशन गरेका छन्।
यता अर्को बलिउड फिल्म ‘भुलभुलैया २’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। कार्कित आर्यन, कायरा आडवाणी र तबुको मुख्य भूमिका रहेको यो फिल्म १५ वर्षअघि प्रदर्शनमा आएको अक्षय कुमार अभिनित फिल्म ‘भुल भुलैया’को सिक्वेल हो। यसलाई अनिस बम्जीले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।