काठमाडौं– भारतको सर्वोच्च अदालतले ‘रोड रेज’को तीन दशक पुरानो मुद्दामा भारतीय कांग्रेसका नेता एवं पूर्वक्रिकेटर नवजोत सिंह सिद्धुलाई एक वर्ष कैद सजाय सुनाएको छ।
पीडित परिवारले उच्च अदालतमा २०१८ मा सिद्धुविरुद्ध मुद्दा दायर गरेका थिए। उनलाई यो मुद्दाबाट छुटकारा दिने फैसलाविरुद्ध अपिल दायर गरिएको थियो। अदालतले २०१८ मा सिद्धुलाई अनैच्छिक हत्याको आरोपबाट मुक्त गर्दै तीन वर्षको सजायलाई एक हजार जरिवानामा झारेकाे थियाे।
अदालतको पछिल्लाे फैसलाका बारेमा प्रतिक्रिया दिँदैं सिद्धुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफूलाई कानुनसमक्ष प्रस्तुत गर्नेछु।’
के थियो मुद्दा?
यो मुद्दा सन् १९८८ डिसेम्बर २७ को हो। त्यतिबेला पटियालाकाे एक पार्किङमा सिद्धु र ६५ वर्षीय गुरनाम सिंहबीच झगडा भएकाे थियाे। पछि गुरनाम सिंहको मृत्यु भएको थियो। सिद्धुमाथि यो विषयमा नियतवश नगरिएको हत्या (भवितव्य हत्या)को मुद्दा दर्ता गरिएको थियो।
तल्लाे अदालतले सिद्धुलाई यो आरोपबाट मुक्त गर्ने फैसला गरेको थियो। तर पछि उच्च अदालतले उनलाई दोषी मान्दै तीन वर्षको सजाय सुनाएको थियो।
यो विषयमा सरकारका तर्फबाट मुद्दा लड्ने वकिलले अदालतमा बताएअनुसार घटनाकाे दिन सिद्धु र उनका साथी रुपिन्दर सिंह संधु भारतको पटियालाको शेरनवाला गेटको नजिकबाट एउटा जिप्सीमा गइरहेका थिए। त्यहीँ पीडित गुरनाम सिंह अन्य दुई मानिससँग एउटा मारुती कारमा सवार थिए।
आफ्नो गाडी हटाउने विषयमा सिद्धु र उनका साथीहरुको गुरनाम सिंहसँग विवाद भएको थियो। त्यत्तिबेला गुरनाम सिंह लडेको र उनलाई अस्पताल लैजाँदा पछि उनको मृत्यु भएको बताइएकाे थियो।
प्रहरीको अभिलेखालयका अनुसार घटनापछि सिद्धु र उनका साथीहरु फरार भएका थिए। पछि मृतकका परिवारले सिद्धु र उनका साथीहरु विरुद्ध मुद्दा दर्ता गरिएको थियो।
के थियो उच्च अदालतको फैसला?
यो मुद्दामा भारतको तल्लाे अदालतले गरेको फैसलापछि सिद्धु आरोपमुक्त भएका थिए। तर, पीडित परिवार उक्त फैसलाबाट सन्तुष्ट नभएपछि २००६ मा उच्च अदालत पुगेका थिए। अदालतमा उनी र उनका साथीविरुद्ध तीन वर्षको सजाय सुनाइएको थियो। दुवैविरुद्ध एक-एक लाखको जरिवाना पनि सुनाइएको थियो।
उच्च अदालतले गरेको फैसलाको विपक्षमा सिद्धुले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उनले गुरनाम सिंह अर्थात् पीडितको हत्याको विषयमा चिकित्सकीय स्पष्टता नभएको भन्दै उच्च अदालतको फैसला पुनरावलाेकनका लागि सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
पीडित पक्षले भने सर्वोच्च अदालतको यो फैसलाको विपक्षमा अपिल गरेका थिए। यही अपिलका आधारमा सिद्धुलाई एक वर्षको सजाय सुनाइएकाे हाे।
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।