काठमाडौं– बक्स अफिसमा तहल्का मच्चाएको बिबेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’माथि सिंगापुरमा रोक लागेको छ। फिल्म सिंगापुरमा प्रदर्शन हुन लाग्दा फिल्ममाथि त्यहाँको सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ।
फिल्मलाई सिंगापुरको सेन्सर बोर्डले प्रतिबन्ध लगाएको हो। फिल्मलाई प्रतिबन्ध लगाउनुको कारणका रुपमा सिंगापुरको सेन्सर बोर्डले भनेको छ, ‘द कश्मीर फाइल्समा मुसलमानलाई गलत रुपमा देखाइएको छ। कश्मीरमा भएको संघर्षको विषयमा हिन्दूहरुलाई मुसलमानले सताएको भन्ने एकतर्फी भाष्य देखाइएको छ।’
फिल्मले बहु धार्मिक समाजमा सामाजिक भाइचारालाई नोक्सान पुर्याउने र समाजमा भएका विभिन्न समुदायबीच द्वन्द्व सिर्जना गर्ने भन्दै यसमाथि प्रतिबन्ध लगाइएको छ। सिंगापुरमा धार्मिक समुदायलाई बदनाम गर्ने कुनै पनि किसिमका सिर्जनाहरुलाई सार्वजनिक गर्नमा रोक लगाइँदै आएको छ।
मार्च ११ मा प्रदर्शनमा आएको यो फिल्म भारतभर निकै चर्चित भएको थियो। फिल्मले सुरुवातमा सुस्त रुपमा बक्सअफिसमा आम्दानी गरेपनि कालान्तरमा व्यापक व्यापार गरेको थियो। फिल्ममा अनुपम खेर, पल्लवी जोशी, दर्शन कुमार, भाषा सुम्ब्लीलगायतका कलाकारहरुको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।