काठमाडौं– वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा देशका ६ महानगरपालिकाले धेरैको ध्यान तानेको छ। यी महानगरमा मुख्यगरी एमाले र सत्ता गठबन्धन दलबीच प्रतिश्पर्धा हुँदैछ।
६ मध्ये दुई महानगरपालिकामा एमालेले पनि राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गरेको छ। एमालेले भरतपुरमा राप्रपा र वीरगञ्जमा लोसपासँग तालमेल गरेको हो। सत्तारुण गठबन्धनमा पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी र जनता समाजवादी पार्टी (जसपा) छन्।
गठबन्धनकातर्फबाट ६ मध्ये तीन वटा महानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार छन्। भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जसपा र पोखरामा एकीकृत समाजवादीले प्रमुख पदमा उम्मेदवारी दिएका छन्।
को–को छन् प्रतिस्पर्धामा?
काठमाडौं महानगरको मेयरमा एमालेले केशव स्थापितलाई उम्मेदवार बनाएको छ। उनी करिब २५ वर्षअघि एमालेबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए। गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंह प्रतिस्पर्धामा छिन्। उपमेयरमा एमालेबाट सुनिता डंगोल र गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार बनेका छन्।
भरतपुर महानगरमा एमालेका तर्फबाट विजय सुवेदी र गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालबीच प्रतिस्पर्धा हुँदैछ। रेनु गत स्थानीय तहमा पनि भरतपुरको मेयरमा विजय भएकी थिइन्। एमालेका तत्कालीन उम्मेदवार देवी ज्ञवालीलाई उनले २०३ भोटले पछि पारेकी थिइन्।
भरतपुरमा उपमेयरमा एमालेले राप्रपासँग सहकार्य गरेको छ। राप्रपाकी हिमला गुरुङ उम्मेदवार छिन्। यता सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्।
प्रदेश १ को एक मात्र महानगर विराटनगरमा एमालेका सागर थापा र गठबन्धनबाट कांग्रेसका नागेश कोइरालाबीच प्रतिश्पर्धा हुँदैछ। उपप्रमुख पदका लागि एमालेले शिल्पा कार्कीलाई अघि सारेको छ भने गठबन्धनले जसपाका अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ। यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
वीरगञ्ज महानगरपालिकामा एमालेले विजयकुमार सरावगीलाई उम्मेदवार बनाएको छ। उनलाई लोसपाको समर्थन छ। उनी अघिल्लो स्थानिय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए। यता गठबन्धनले जसपाका राजेशमान सिंहलाई प्रतिश्पर्धामा उतारेको छ। त्यस्तै, उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झालाई एमालेले समर्थन गरेको छ। सत्ता गठबन्धनबाट कांग्रेसका इम्तियाज आलम उम्मेदवार छन्।
पोखरामा एमालेले कृष्णबहादुर थापालाई मेयर र मञ्जुदेवी गुरुङलाई उपमेयरमा उम्मेदवार बनाएको छ। मञ्जु गएको निर्वाचनमा पनि उपमेयरमा विजयी भएकी थिइन्। सत्ता गठबन्धनले भने एकीकृत समाजवादीका धनराज आचार्यलाई मेयरमा र कांग्रेसकी कोपिला रानाभाटलाई उपमेयरमा उम्मेदवार बनाएको छ।
ललितपुर महानगरमा कांग्रेसले निवर्तमान मेयर चिरिबाबु महर्जनलाई नै पुनः उम्मेदवार बनाएको छ। उपमेयरमा भने गठबन्धनबाट माओवाद केन्द्रका बाबुराज बज्राचार्य उम्मेदवार छन्। यहाँ एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएर छुट्टै उम्मेदवार उठाएको छ। एमालेले भने हरिकृष्ण व्यञ्जनकारलाइ मेयरमा र मञ्जली शाक्य बज्राचार्यलाई उपमेयरमा उम्मेदवार बनाएको छ। व्यञ्जनकार अघिल्लो निर्वाचनमा मेयरमा महर्जनसँगै पराजित भएका थिए।
यस्तो थियो अघिल्लो समीकरण
काठमाडौं महानगरपालिकामा यो वर्ष तीन लाख २४२ मतदाता छन्। अघिल्लो स्थानीय निर्वाचनमा दुई लाख ७९ हजार ३०९ जना मतदाता थिए। त्यतिबेला ७०.६ प्रतिशत मतदान भएको थियो।
कुल एक लाख ९७ हजार २२७ मत खस्दा मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएर विजयी भएका थिए। कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीले ४५ हजार २६९ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम दास डंगोलले ७ हजार ९०३ मत मात्र पाएका थिए। माओवादीका उम्मेदवारले भन्दा बढी मत विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले पाएका थिए। दर्शनाले २३ हजार ४३९ र थापाले १८ हजार ४९६ मत पाएका थिए।
पाँच वर्षअघिको तुलनामा काठमाडौंमा अहिले २० हजार ९३३ मतदाता बढेका छन्। पुराना मतदाताहरूले पनि पार्टी परिवर्तन गरेर मतदान गर्ने संभावना रहन्छ। तर, गत निर्वाचनमा काठमाडौं महानगरमा कांग्रेस र माओवादी केन्द्रले पाएको मत जोड्दा पनि एमालेले पाएको मत जति पुग्दैन।
यसपटक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनौती दिनेछन्। घरदैलो कार्यक्रमदेखि सामाजिक सञ्जालमा उनले चर्चा बटुलेका छन्।
भरतपुरमा अघिल्लो पटक मतपत्र गणनाका क्रममा धाँधली गरेर पुनःनिर्वाचन गराएपछि मात्र विजयी भएको माओवादी केन्द्र र रेनु दाहालमाथि आरोप छ। त्यति बेला गणनाकै क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र चपाएर नष्ट गरेका थिए। रेनु पुनः प्रतिश्पर्धामा हुँदा एमालेबाट विजय सुवेदी प्रतिश्पर्धामा छन्।
भरतपुरमा अघिल्लो पटकको तुलनामा ३५ हजार ४७९ मतदाता बढेका छन्। २०७४ सालमा त्यहाँ एक लाख ५० हजार २७३ मतदाता थिए। अहिले एक लाख ८५ हजार ७५२ मतदाता छन्।
पोखरामा अघिल्लो पटक एमाले विजयी भएको थियो। यसपटक एमाले एक्लै प्रतिश्पर्धामा छन् भने कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र राजमोको गठबन्धन छ। पोखरामा अघिल्लो पटक पनि कांग्रेस र माओवादीबीच सहकार्य थियो।
अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको तर्फबाट कांग्रेसका रामजी कुँवर मेयरको उम्मेदवार थिए। उनले एमालेका उम्मेदवार मानबहादुर जिसीभन्दा १६ हजार ७०२ मत कम ल्याएका थिए। अघिल्लो चुनावमा मतान्तर धेरै भएका कारण पनि एकीकृत समाजवादीका धनराज आचार्यले कांग्रेस, माओवादी र राजमोको सम्पूर्ण मत आफ्नो पोल्टोमा पार्नुपर्ने बाध्यता छ। त्यति मात्र नभइ एमालेकै मत पनि तान्नुपर्ने हुन्छ।
पोखरामा अहिले ‘अटेरी अभियान’मार्फत गनेश पौडेल पनि मेयरका स्वतन्त्र उम्मेदवार छन्। नयाँ पुस्ताको समर्थन पाइरहेका पौडेललाई जाने भोटले पनि अन्य उम्मेदवारको जित–हार प्रभावित हुनसक्छ।
पोखरा महानगरमा यसपटक ३९ हजार ६४४ मतदाता बढेका छन्। त्यहाँ २०७४ सालमा एक लाख ६८ हजार ६८ मतदाता थिए। अहिले दुई लाख सात हजार ७१२ मतदाता छन् । नयाँ आएका मतदाताले भोट हाल्ने उम्मेदवारले पनि परिणाम प्रभावित पार्न सक्छन्।
ललितपुरमा अघिल्लो पटक कांग्रेस र माओवादी केन्द्रले फरक उम्मेदवार उठाएका थिए। गत निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जनले २४ हजार ६४२ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए। दोस्रो बनेका एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए। उनी ३२६ मतले पराजित भएका थिए। माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१ मत पाएका थिए।
ललितपुर महानगरपालिकामा ९ हजार ९६७ मतदाता बढेका छन्। त्यहाँ २०७४ सालमा एक लाख १२ हजार ९२३ मतदाता थिए। अहिले एक लाख २२ हजार ८९० मतदाता पुगेका छन्।
वीरगञ्जमा अघिल्लो तत्कालीन संघीय समाजवादीबाट विजय सरावगीले १९ हजार ३९३ मत पाएर विजयी भएका थिए। एमालेका उम्मेदवार बसरुद्धीन अन्सारीले ८ हजार ६८८ मत मात्रै ल्याएका थिए। सरावगीका प्रमुख प्रतिद्वन्द्वी रहेका कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएका थिए। माओवादीका रहवर अन्सारी आठ हजार ३०५ मत ल्याउँदै छैटौं स्थानमा थिए। यसपटक सरावगी एमालेका उम्मेदवार छन्। कांग्रेस र जसपासहितको गठबन्धनका उम्मेदवार राजेशमान सिंह छन्।
वीरगञ्जमा अघिल्लो निर्वाचनको तुलनामा १६ हजार १४६ मतदाता बढेका छन्। त्यहाँ २०७४ सालमा एक लाख आठ हजार ५०१ मतदाता थिए।
उता, विरानटगरमा अघिल्लो पटक कांग्रेसले जित हासिल गरेको थियो। एमालेका उम्मेदवार विनोदप्रसाद ढकाललाई कांग्रेस उम्मेदवार भीम पराजुलीले पाँच हजार ७१० मतान्तरले पराजित गरेका थिए। तत्कालीन संघीय समाजवादी फोरमका उमेशकुमार यादव १४ हजार ९५८ मतसहित तेस्रो भएका थिए। उनी यसपटक मेयरको स्वतन्त्र उम्मेदवार छन्।
विराटनगरमा यसपटक १९ हजार ३८९ मतदाता थपिएका छन्। त्यहाँ २०७४ सालको निर्वाचनमा एक लाख १३ हजार ७६१ मतदाता थिए। अहिले एक लाख ३३ हजार १४२ मतदाता पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।