काठमाडौं– युद्ध रोक्ने सम्झौता गर्न वार्ता चलिरहेको बेलामा अमेरिकाले फेरि पनि इरानमाथि हमला गरेको छ। गत हप्तादेखि भइरहेका लगातारका आक्रमणको पछिल्लो कडी स्वरूप अमेरिकाले सप्ताहन्तमा दक्षिणी इरानका सैन्य लक्ष्यहरूमा आत्मरक्षाका लागि हवाई आक्रमणको शृंखला चलाएको छ।
इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले केही घण्टा अघि जारी गरेको विज्ञप्ति अनुसार इरानी तटको गोरुक शहर र केश्म टापुमा रहेका राडार तथा ‘कमान्ड एन्ड कन्ट्रोल’ केन्द्रहरूलाई निशाना बनाएको जानकारी दिएको छ।
त्यसको एक घण्टा पनि नबित्दै इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) ले दक्षिणी इरानको एक सञ्चार केन्द्रमा आक्रमण गरेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको जनाएको छ।
कुवेती सेनाले सोमबार बिहानै सामाजिक सञ्जालमार्फत आफ्ना वायु रक्षा प्रणालीले शत्रुतापूर्ण मिसाइल र ड्रोन आक्रमणहरूको सामना गरिरहेको बताएको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ। तर अमेरिकाले इरानमाथि प्रहार गरेपछि सो आक्रमण भएको हो कि होइन भनेर खुलाएको छैन। कुवेतमा अमेरिकाका पाँचवटा सैन्य अखडा छन्।
अमेरिकाले बिहिबार राति पनि आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका दक्षिणी इरानका सैन्य संरचनाहरूमा हमला गरेको थियो। सो हमला गर्न प्रयोग भएको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको भनेर इरानले पनि दाबी गरेको थियो
अमेरिका र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला पछिल्ला सैन्य कारबाही सार्वजनिक भएका हुन्। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग हुने सम्झौतामा केही बुँदामा संशोधन खोजेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।