काठमाडौं– नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री वालेन्द्र शहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमाचायनासहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिदासम्म संसद्मा विरोध जारी राख्ने बताइन् ।
श्रम संस्कृति पार्टीका आरेन राईले पनि बालेनको राष्ट्रघाती अभिव्यक्ति सच्चिनुपर्ने आफूहरूको अडान रहेको बताए ।
प्रधानमन्त्रीसँगको प्रश्नकोत्तरका क्रममा बालेनले आइतबार नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको प्रतिक्रिया दिएका थिए । यस विषयमा आज बस्ने प्रतिनिधिसभा बैठकमा आवाज उठाउने कांग्रेस सचेतक निश्कल राईले बताए ।
विपक्षी दलले प्रतिनिधिसभा नियमावली पारितका क्रममा सभामुखले गरेको व्यवहारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।