काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने समेत उनको माग छ ।
आज संसदमा प्रधानमन्त्रीले बोल्दै गर्दा कुनै पनि संसद्ले तत्काल नियमापत्ति गरेका थिएनन् । प्रधानमन्त्री हिँडिसकेपछि बोलेका वर्षमानले यो विषय नै उठाएनन् । उनी संसद् नियमावलीको कुरामै अलमलिएका थिए । प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिएको भन्दै खुशी व्यक्त गरेका थिए । उनको पार्टी प्रमुख सचेतक युवराज दुलालले पनि यो विषय उठाएनन् ।
संसद् बैठकबाट निस्किएपछि भने वर्षामानले सञ्चारकर्मीसामु कडा अभिव्यक्ति दिए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेको बताए ।
उनले भने, ‘हामीले पनि भारतको जमिन मिचेका रहेछौँ भनेर बोल्नु असाध्यै गम्भीर विषय हो । तुरुन्तै त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भनेर माननीयज्यूहरूले बोल्नुभएको छ र यसलाई तुरुन्तै संसदको रेकर्डबाट हटाइनुपर्छ । यो कुनै पनि प्रकारको राष्ट्रिय रेकर्डमा रहनुहुन्न ।’
तथ्य–प्रमाणले कतै पनि भारतको जमिन नेपालले मिचेको नदेखाएको उनले बताए । यो विषयमा प्रधानमन्त्रीले संसद् सामु र जनतासामु माफी नमागेको खण्डमा भोलिको बैठकमा प्रतिपक्षी दलहरूले सशक्त विरोध गर्ने उनको भनाइ छ ।
पुनले थपे, ‘प्रधानमन्त्रीले भारतको जमिन मिचेका रहेछौँ भन्नु राष्ट्रियताको र भौगोलिक अखण्डताविरुद्ध छ । त्यो कुरामा प्रधानमन्त्रीज्यू तुरुन्त तथ्यसहित प्रस्तुत हुनुपर्छ र आफ्ना कुरा फिर्ता लिनुपर्छ, सच्याउनुपर्छ र माफी माग्नुपर्छ । भोलिसम्म यसलाई रेकर्डबाट हटाइएन र प्रधानमन्त्रीले क्षमा माग्नुभएन भने भोलि सबै प्रतिपक्षीहरूले सशक्त विरोध गर्नेछौँ । सरकारको रेस्पोन्स अनुसार कदम चाल्छौँ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।