म्यानमार-म्यानमारको अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपिललाई बुधबार अस्वीकार गरेको छ। सुकीलाई गत साता भ्रष्टाचार आराेपमा पाँच वर्षको सजाय सुनाइएकाे थियाे।
७६ वर्षीया सुकीलाई सैनिकविरुद्ध उक्साहट गरेकाे अभियोगमा यसअघि नै छ वर्षको जेल सजाय सुनाइसकिएको छ। उनले कोभिड–१९ नियम उल्लंघन गर्दै दूरसञ्चार ऐनविरुद्ध कार्य गरेकाे अदालतले ठहर गरेको हो।
यो अवधिमा उनी राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहने पनि बताइएको छ।
सुकीलाई अन्य थुप्रै मुद्दा लगाइएको छ जसमा राज्यको गोपनीयता भंग गरेको, विभिन्न विषयमा भ्रष्टाचार गरेको र चुनावी ठगीलगायतका थुप्रै अभियोगहरू लगाइएको छ। यदि सबै अभियोगमा दोषी ठहरिएमा उनलाई १०० वर्षभन्दा बढी जेल सजाय हुनेछ।
पत्रकारहरुलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको थियो भने अहिले पनि सुकीका वकिलहरुलाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ।
म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार त्यहाँ गत फेब्रुअरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियान सञ्चालनका क्रममा भएका झडपहरूमा कम्तीमा एक हजार ८०० भन्दा बढी मानिसहरू मारिएका छन् भने १३ हजारभन्दा बढी गिरफ्तार भएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।