काठमाडौं– काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डाला बेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु र १९ जना घाइते हुनेगरी भएको घटनाको अनुसन्धान गर्न एक समिति बनाइएको छ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर गृहमन्त्री बालकृष्ण खाणले घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन्।
त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ। समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन्।
बुधबार मध्यान्ह काठमाडौंबाट सिन्धुलीतर्फ छुटेको गरेको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटा सुमो जीप ठोक्किँदा दुई महिला, दुई पुरुष र एक बालक गरी ५ जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।