काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
एआईजीपी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत जुनियरलाई आईजी बनाएको भन्दै दायर गरेको रिटमाथि सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो। मुद्दालाई भोलि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।
बुधबार सरकारकोतर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित चार जना अधिवक्ताले बहस गरेका छन्। महान्यायाधिवक्ता खातीसँगै वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई र भीमार्जुन आचार्यले सरकारको तर्फबाट बहस गरेका हुन्।
उनीहरुले बिदामा बसेको व्यक्तिलाई अन्तरिम आदेश दिन नहुने जिकिर गरेका छन्।
एसपी हुँदासम्म हाल आईजीपीमा बढुवा भएका धीरजप्रताप सिंह नै अगाडि रहेको र पछि उनलाई पन्छाएर विश्वराज पोखरेल अघि बढेको उनीहरुले तर्क गरेका छन्।
महान्यायाधिवक्ता खातीले त चुनावको मुखमा अन्तरिम आदेश दिएर प्रहरीलाई नेतृत्वविहीन बनाउन नहुने जिकिर समेत गरेका छन्।
पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेतलगायत कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुमध्ये केहीले बुधबार सुरुवाती बहस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।