काठमाडौं– देशमा चुनावी गर्मीले माहोल तातेको छ। चारैतिर चुनावी प्रचारकै माहोल छ। तर, चुनावको गर्मीका बीच पनि फिल्म क्षेत्र सेलाएको छैन। कोरोना महामारीपछि पुनः लयमा फर्किएको फिल्म क्षेत्र अहिले निरन्तर सक्रिय भइरहेको छ। नयाँ फिल्मको घोषणा हुनेदेखि छायांकनमा जानेलगायतका काम धमाधम भइरहेका छन्। सँगै फिल्म प्रदर्शनले पनि लय लिएको छ।
वैशाख २३ (मे ६)मा नेपाली सिनेमा हलमा फरक विधाको फिल्म ‘षट्कोण’ लाग्दै छ। फिल्मका निर्देशक मिलन डि काप्री हुन् भने फिल्ममा अभिनेता कर्मा शाक्य र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको छ। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्म थ्रिलर विधामा आधारित रहेको छ। एक पत्रकारले शृङखलाबद्ध रुपमा हुने हत्याको अनुसन्धान गरेको घट्नालाई लिएर फिल्ममा कथा प्रस्तुत गरिएको छ।
त्यस्तै, मे महिनामा नेपाली सिनेमा हलमा ‘लक्का जवान’ फिल्म प्रदर्शनमा आउँदै छ। वैशाख २५ (मे ८)बाट यो फिल्म प्रदर्शनमा आउँदै छ। हास्यव्यंग्यमा राम्रो नाम कमाएका शिवहरि पौडेलको निर्देशनमा बनेको यो कथाको विधा पनि हास्यव्यंग्य नै हो। फिल्ममा थुप्रै दीलिप रायमाझी, राजाराम पौडेल सुशील पोखरेल, सरोज खनाल, प्रियंका कार्की, किरण केसी, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।
मे महिनामै बहुप्रतिक्षित फिल्म ‘कब्बड्डीः द फाइनल म्याच’ पनि प्रदर्शनमा आउँदै छ। फिल्म मे २७ (जेठ १३ गते) देखि प्रदर्शन हुनेछ। रामबाबु गुरुङको निर्देशनमा बनेको यो फिल्म सफल फिल्म शृङ्खला ‘कब्बड्डी’कै निरन्तरता हो। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ।
यही महिना प्रदर्शनमा आउने भनिएको ‘कौसीद’को प्रदर्शन भने सरेको छ। निर्माण पक्षका अनुसार फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी रहेकाले केही समयलाई फिल्म पछि सारिएको हो।
अभिनेत्री ऋचा शर्माले बनाएको यो फिलममा उनीसँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदीक्षा गौतमलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।