काठमाडौं– राष्ट्रिय फुटबल टिमको प्रशिक्षणबाट विद्रोह गरेका १० खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र बुझाएका छन्।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै विद्रोह गरेका १० खेलाडीले सोमबार एन्फालाई पत्र बुझाएका हुन्।
बन्द प्रशिक्षण छाडेका खेलाडीले एन्फालाई पठाएको पत्रमा प्रशिक्षण छाड्नु पर्नाको घटनाक्रमबारे समेत जानकारी गराइएको छ। उनीहरूले प्रशिक्षकले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफूहरू बाहिरिएको बताएका छन्।
प्रशिक्षणका दौरान टोलीको कार्यवाहक नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षकको प्रश्नपश्चात जायज माग राख्दा उनीसँग प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गरेको व्यवहारप्रति आफूहरूको असन्तुष्टि रहेको बताएका छन्।
'त्यसबारे नै कुरा गर्न जाँदा हामीलाई पटक पटक क्याम्प छोड्न भनेपछि हामी बाहिरिएका हौं', पत्रमा भनिएको छ। उनीहरूले क्याम्प छाड्दा समेत जानकारी गराएको दाबी गरेका छन्।
'हामीलाई क्याम्प छोड्ने भनेपछि स्वयं प्रशिक्षक अल्मुताइरी, सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी गराएका हौं। हामीले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत माग राख्दा उल्टो क्याम्प छोड्न निर्देशन दिनु र त्यसमाथि एन्फाका पदाधिकारीले सार्वजनिक रुपमा हामीविरुद्ध नै अनावश्यक प्रतिक्रिया दिनुले हामीलाई निकै दु:खित तुल्याएको छ', पत्रमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।