काठमाडौं– रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ। शनिबार राति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले ४ खेल बाँकी छँदै उपाधि जितेको हो।
रियलको यो समग्रमा ३५औं ला लिगा उपाधि हो। रियल पछिल्लोपटक २०१९–२० को सिजनमा च्याम्पियन बनेको थियो।
घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे।
खेलको ३३औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोली रियललाई सुरुआती अग्रता दिलाए। ४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २-० को बनाए।
५५औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियलको अग्रता ३-० मा पुर्याए। ८१औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४-० को जित दिलाए।
जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ। रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि रहेको छ।
स्पानियोल ३९ अंक जोडेर १४औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।