काठमाडौं– प्रदीप खड्का र सलोनी तामाङले आठौं खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे।
प्रतियोगिताको महिला फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६–०, २–६ र ६–० को सेटमा हराइन्। समग्र करिअरमा प्रदीपको चौथो र सलोनीको पाँचौं सिंगल्स उपाधि हो।
प्रदीप र सलोनीको जोडीले मिक्स डबल्स पनि विजेता बनेका थिए। सो स्पर्धामा पनि प्रणव र अभिलाषा उपविजेतामै सीमित भएका थिए। पुरुष/महिला सिंगल्सका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १०/१० हजार नगद पुरस्कार हात पारे।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले कमल भण्डारीलाई ६–२ र ६–२ को सिधा सेटमा फाइनलमा पाखा लगाउँदै पहिलो स्थान हात पारे।
३५ वर्षमाथि पुरुष डबल्समा दावा शेर्पा र जितेन्द्र परियारको जोडी शीर्ष स्थानमा रहे। उक्त जोडीले फाइनलमा कमल भण्डारी र सुमित मैनालीको जोडीलाई ६–२ र ६–४ ले पन्छाए। ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडी विजेता बने। विजेता जोडीले फाइनलमा यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीलाई ४–६, ६–४ र १०–७ ले निराश पारे।
भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बाजी मारे। दीपकमान श्रेष्ठविरुद्धको फाइनलमा थापाले पहिलो सेट ४–० ले आफ्नो पक्षमा पारे। दोश्रो सेटमा थापा ३–० ले अघि रहेको अवस्थामा श्रेष्ठ ‘रिटायर्ड हर्ट’ भएपछि थापा विजेता भए। ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले फाइनलमा निरञ्जनकुमार श्रेष्ठमाथि ६–२ र ६–० को सहज जित रचे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।