काठमाडौं- आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि भारोत्तोलनबाट समान ८ पुरुष र महिला गरी १६ खेलाडी प्रारम्भिक छनोटमा परेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभाष उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट भए।
नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी संगिता राई र आर्मीकी मनीषा रानाभाट, ५५ केजीमा बाँकेकी सन्जु चौधरी, ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिए।
प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष/महिलामा ७–७ गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बने। पुरुषमा विकास भट्टले १, विशालसिंह विष्टले २, सुभाष उपाध्यायले ३ र सागर भण्डारीले १ कीर्तिमान बनाए। महिलामा सन्जु चौधरीले १ तथा तारादेवी पुन र विद्या राईले समान ३ राष्ट्रिय कीर्तिमान रचे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।