काठमाडौं– केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकारसम्मेलन गर्दै तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो। आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय लेखा तथ्यांक प्रस्तुत गर्दै राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेको बताए।
उनले कृषि क्षेत्रमा अहिलेको नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको बताए। विभागले अनुमान गरेको आर्थिक वृद्धिदर एक दशकको औसत वृद्धिभन्दा बढी हो। बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो। कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि ऋणात्मक (२.४२ प्रतिशत) हुन पुगेको थियो।
कोरोना कहरबाट उठ्न खोजेको अर्थतन्त्र गत वर्ष भने ३.९३ प्रतिशतले आर्थिक वृद्धि भएको संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ। गत वर्ष प्रारम्भिक अनुमान भने ४ प्रतिशतभन्दा आर्थिक वृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो।
विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो। तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्यांक विभागले सार्वजनिक गर्ने गरेको छ। चालु आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो।
‘बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेका छौँ। गत वर्ष ४.०१ प्रतिशतले वृद्धि हुन्छ भनेका थियौँ। त्यसलाई परिमार्जन गर्दा त्यो वृद्धिदर ४.३ मा पुगेको छ भने त्यो भन्दा अगाडिको सालको वृद्धिदर ऋणात्मक २.१ हुन्छ भनेका थियौँ’, भण्डारीले भने, ‘त्यसलाई परिमार्जन गर्दा माइनस २.७ भएको अवस्था छ। एग्रिकल्चर सेक्टरको अहिलेको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै छ। गैरकृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।