काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर तत्काल कार्यान्वयनमा जानुपर्ने बताएका छन्। बिहीबार मन्त्रालयअन्तर्गतका सचिव, ६ वटा विभाग, ७ वटा महाशाखा प्रमुख र सहसचिवसँग छलफल गर्दै मन्त्री बडूले यस्तो बताएका हुन्।
छलफल चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुदाँ नम्बर ४२६ मा उल्लेख रहेअनुसार लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालनको मोडालिटी, प्रभावकारी बजार अनुगमन र मंगलबारको मन्त्रिपरिषद् बैठकले १० वटा कम आवश्यक एवं विलासी उपभोग्य सामानको आयातमा लगाएको बन्देज तथा आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने गरी भएको निर्णयका विषयमा केन्द्रित थियो।
त्यसअवसरमा मन्त्री बडूले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालनको विषय सँधै सरकारको प्राथमिकतामा पर्ने भए पनि हालसम्म सञ्चालन हुन नसकेकोको उल्लेख गरे। उनले तत्काल उपयुक्त मोडालिटी तयार गरी पुनः सञ्चालनमा ल्याएर राष्ट्रिय उत्पादन वृद्धि गर्नुका साथै पर्याप्त रोजगारी सृजना गर्नुपर्ने आवश्यक रहेको बताए।
उनले रुग्ण उद्योग सञ्चालनका लागि विभिन्न तहमा छलफल तथा अध्ययन भएपनि अहिलेसम्म परिणाम नदेखिएकोले अब तत्काल कार्यान्वयनमा जाने गरी सञ्चालन ढाँचा (मोडालिटी) बनाउन र सम्बद्ध सबै पक्षसित छलफल र सुझाव लिने व्यवस्था मिलाउन निर्देशन दिए।
यसैगरी, मन्त्री बडूले राज्य संयन्त्र र प्रायः सबैको ध्यान चुनावमा केन्द्रित भएको मौकामा अत्यावश्यक उपभोग्य वस्तु (खाद्य सामग्री, तरकारीलगायत) को अस्वभाविक मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव देखाई अनुचित फाइदा लिने प्रवृतितर्फ सचेत रहँदै संघीय, प्रदेश, जिल्ला तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन पनि निर्देशन दिए।
आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार साताको २ बिदा दिने गरी भएको निर्णयका विषयमा विभिन्न कोणबाट टिप्पणी भइरहेकाले एक हप्तामा गर्ने काम पाँच दिनमै गर्ने गरी कार्यघण्टा थप गरिएको बताए।
सरकारको सेवा प्रवाहलाई छिटोछरितो बनाउन प्रविधि (डिजिटलाइजेसन) को प्रयोग गर्नुका साथै बिदाको दिन कुनै पनि बहानामा सरकारी स्रोत तथा पेट्रोलिम पदार्थको दुरुपयोग नहुने स्थिति सुनिश्चित गर्न आवश्यक मापदण्ड र नियन्त्रणात्मक प्रबन्धसहितको कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।