राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी
काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा रहेका अन्य ४ खेलाडीले पनि प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
बिहीबार प्रशिक्षणमा रहेका थप ४ खेलाडीले असन्तुष्टि जनाएका हुन्। यसरी असन्तुष्टि जनाउनेमा मिडफिल्डर पुजन उपरकोटी, फरवार्ड दर्शक गुरुङ, मिडफिल्डर एरिक विष्ट र गोलकिपर दीप कार्की छन्।
‘राष्ट्रिय टोलीको प्रशिक्षणमा जायज विषय उठाउँदा खेलाडीप्रति गरिएको व्यवहारप्रति मेरो असन्तुष्टी छ’ चारै खेलाडीले एकै प्रकारको फेसबुस स्टाटसमा लेखेका छन् ।
बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई दुर्व्यवहार गरेको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका करिब एक दर्जन खेलाडीले मुख्य प्रशिक्षकविरुद्ध ‘विद्रोह’ गरेका थिए।
उनीहरुको ‘विद्रोह’मा कप्तान किरण चेम्जोङले बुधबार साँझ सामाजिक सञ्जालमार्फत् समर्थन गरेका थिए।
किरणले लेखेका छन्, ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु।’
किरण माल्दिभ्सको क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। मुख्य प्रशिक्षक अल्मुताइरीले आफूविरुद्ध ‘विद्रोह’ गरेका खेलाडीको विकल्पमा १४ नयाँ खेलाडी बोलाइसकेका छन्। यता, खेलाडीको ‘विद्रोह’मा साथ दिएका कप्तान तथा गोलकिपर किरणको पनि विकल्प खोज्न थालिएको छ।
किरणको विकल्पको रूपमा भारतको आर्मी टिमबाट खेलिरहेका भवीन्द्र मल्ल ठकुरीलाई बोलाउने तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)का एक पदाधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।