काठमाडौं– सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा इटालियन सिरी ‘ए’ फुटबलमा उपाधि होडमा रहेको इन्टर मिलान पराजित भएको छ।
बुधबार राति सम्पन्न खेलमा इन्टरलाई बोलोग्नाले २–१ गोल अन्तरले हराएको हो। इन्टरको लागि इभान पेरिसिचले एक गोल गरे। यता, बोलोग्नाका लागि मार्को अर्नाउटोभिच र निकोला सान्सवनले एकरएक गोल गरे।
खेलको तेस्रो मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, २८औं मिनेटमा अर्नाउटोभिचले गोल गर्दै बोलोग्नालाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफ २ गोल भएको खेलको दोस्रो हाफ थप १ गोल भएको थियो।
८१औं मिनेटमा निकोला सान्सवनले गोल गर्दै बोलोग्नालाई २–१ को जित दिलाए । यस हारसँगै इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
इन्टर ३४ खेलमा ७२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एसी मिलान ७४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। जित निकालेको बोलोग्ना ४२ अंक जोडेर १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।