काठमाडाै-नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरूद्व खेलाडीले गरेको विद्रोहमा साथ दिएका छन्। बुधबार अबेर राति सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले खेलाडीको पक्षमा समर्थन जनाएका हुन्।
'राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु,' किरणले लेखेका छन्।
बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दसहित एक दर्जन खेलाडीले मुख्य प्रशिक्षक अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन्।
उनीहरू मंगलबार बेलुका त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको बिजनेस होटलबाट बाहिरिएका थिए।
कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपाली टोलीले वैशाख २ गतेबाट प्रशिक्षण सुरु गरेको थियो।
प्रशिक्षण सुरु गरेकै दिन मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो टिम चीनमा हुने एसियन कपका लागि छनोट हुन नसक्ने बताउँदै आएका थिए।
छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारमा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।