कोलम्बो–श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन आफू तयार रहेको बताएका छन्। आफू सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिदै उनले संसद्मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको स्पष्ट पारे।
देशको अहिलेको आर्थिक तथा राजनीतिक संकट समाधान गर्ने जिम्मेवारी सबैको भएकाले सबै सहभागी सरकार बनाएर काम गर्नु पर्नेमा उनले जोड दिए।
उनले सबै दलका नेताहरूलाई सर्वदलीय सरकार निर्माणका लागि छलफलमा आउन समेत बुधबार आग्रह गरे।
सरकारभित्रको संरचना, वरियता, भागबन्डालगायत विषयमा छलफल गर्न आफू खुला रहेको पनि राष्ट्रपति राजापाक्षेले स्पष्ट पारेका छन्।
उनले सर्वदलीय सरकार गठनका बारेमा छलफल गर्न आगामी शुक्रबार सत्तारुढ गठबन्धनको बैठकसमेत आयोजना गरेका छन्। श्रीलंकामा आर्थिक संकट सुरु भएपछि महङ्गी र अभाव सृजना भएको थियो भने त्यसै कारणले आम नागरिक आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनका कारण हिंसात्मक घटनाहरू समेत भएपछि राजनीतिक संकटसमेत उत्पन्न भएको छ। आन्दोलनकारीहरूले अहिलेको सरकारकै कारणले आर्थिक तथा राजनीतिक संकट उत्पन्न भएको आरोप लगाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।