काठमाडाैं-आफूविरुद्ध 'विद्रोह' गर्ने खेलाडीलाई नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुशासनको कारबाही गर्ने भएका छन्।
बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई दुर्व्यवहार गरेको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका एक दर्जन खेलाडीले मुख्य प्रशिक्षकविरुद्ध 'विद्रोह' गरेका थिए।
उनीहरू मंगलबार बेलुका होटलबाट बाहिरिएको बन्द प्रशिक्षणमा सहभागी एक खेलाडीले नेपाल लाइभलाई बताए। नेपाली टोली त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको बिजनेस होटलमा बसेको छ।
बिना जानकारी होटेलबाट बाहिरिएर अनुशासन तोडेको भन्दै उनीहरुमाथि कारबाहीको प्रकृया अगाडि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का एक पदाधिकारीले बताए।
‘खेलाडी र प्रशिक्षकबीच के भयो भन्ने कुरा एन्फाले छानबिन गर्ने हो। तर, बिना जानकारी होटेलबाट बाहिएकामाथि अनुशासनको कारबाही गर्ने तयारी गरेका छौं,’ उनले भने।
टोली नै रित्तिने गरि खेलाडीले प्रशिक्षक अल्मुताइरीविरुद्ध विद्रोह गरेपछि नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाइएको उनले जानकारी दिए।
‘ए डिभिजन लिगलगायत मुख्य प्रतियोगितामा खेलेका खेलाडीहरुको भिडियो अध्ययन हुँदै छ। त्यही अनुसार पुराना खेलाडीको सट्टा नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउने तयारी भइरहेको छ। होटेलबाट बाहिनेहरु अब टोलीमा नसमेटिने लगभग पक्का छ,’ उनले भने।
कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपाली टोलीले वैशाख २ गतेबाट प्रशिक्षण सुरु गरेको थियो।
प्रशिक्षण सुरु गरेकै दिन मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो टिम चीनमा हुने एसियन कपका लागि छनोट हुन नसक्ने बताउँदै आएका थिए।
छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारमा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।