काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताएका छन्।
बुधबार नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताएका हुन्। उनले राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल भइरहेको उनले बताए।
गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताए। कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले आर्थिक गतिविधि बढ्दै गएको भन्दै अर्थतन्त्रमा केही सुधार हुने संकेत देखिएको उनको भनाइ छ।
गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्न सक्ने बताए। चालु आर्थिक वर्षको सुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा आर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको उनले बताए।
त्यस्तै, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक डिजिटल मुद्रा चलाउने बाटोमा गएको बताए। उनले कागजको नोट प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको बताएका हुन्।
उनले अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने तयारीमा राष्ट्र बैंक रहेको बताए। अर्थतन्त्र बाहृय क्षेत्रको कारण दबाब परेको मिश्रले पनि बताए। उनले बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।