काठमाडौं– बार्सिलोना घरेलु मैदानमै रायो भालेकानोसँग स्तब्ध बनेको छ। स्पेनिस ला लिगाअन्तर्गत गए राति सम्पन्न खेलमा बार्सिलोना १–० ले स्तब्ध बनेको हो।
नोउक्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको सातौं मिनेटमा इसी पालाजोनको पासमा गोल गरेका थिए।
सम्हालिन नपाउँदै गोल खाएको बार्सिलोनाले त्यसपछि ७१ प्रतिशत बल पोसेसन राख्दै पाहुना टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न भने सकेन।
बार्सिलोनाले घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको हो। यसअघि युरोपा लिगमा आइनट्राख्ट फ्रान्कफुर्टसँग पराजित भएको बार्सिलोना पछिललो खेलमा क्याडिजसँग १–० ले स्तब्ध बनेको थियो।
यो हारले बार्सिलोनाको ला लिगा उपाधि यात्रामा धक्का लाग्दा शीर्षस्थानको रियल म्याड्रिडलाई थप सहज भएको छ। दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको रियल भन्दा १५ अंकले पछि छ। रियलको ७८ तथा बार्सिलोनाको ६३ अंक छ।
अब रियललाई च्याम्पियन बन्न स्पान्योलसँगको बराबरीको नतिजा नै पर्याप्त हुनेछ। बार्सिलोनालाई हराएको रायो भालेकानो ४० अंक जोडेर ११औं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।