काठमाडौं– खेलको इन्ज्युरी समयमा क्रिस्टियन पुलिसिसको गोलमा चेल्सीले जित हात पारेको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो। घरेलु मैदानमा बराबरीतर्फ धकेलिएको खेलको ९०औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीलाई महत्त्वपूर्ण ३ अंक दिलाए।
चेल्सीले बल पोसेसन राख्दै पाहुना टोलीलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो। ८६औं मिनेटमा क्रेइग डासन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिन पुगेको थियो।
थियागो सिल्भाको फ्लिक गरेको बलमा फरवार्ड रोमेलु लुकाकुसँग जुध्दै फउल गर्न पुगेका क्रेइग डासनलाई सुरुवातमा पहेलो कार्ड देखाइएपनि भिएआरको सहायतामा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो। तर, त्यसमै प्राप्त पेनाल्टीमा जर्गिन्हो चुकेपछि चेल्सीले अग्रता लिन सकेन। खेलको ९०औं मिनेटमा पुलिसिसले मार्काेस अलन्सोको पासमा गोल गर्दै चेल्सीलाई जित दिलाए।
यो जितसँगै चेल्सीको ३२ खेलबाट ६५ अंक पुगेको छ। एक खेल बढी खेलको आर्सनल ६० अंक जोडेर चौथो स्थानमा रहेको छ। पराजित वेस्ट ह्याम ३४ खेलबाट ५२ अंक जोडेर सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।