काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ । शनिबार राति सम्पन्न खेलमा घरेलु टोली सिटीले वाट्फोर्डलाई ५–१ गोल अन्तरले पराजित गरेको हो।
इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन गाब्रियल जेससले चार तथा रोड्रिले एक गोल गरे। पाहुना टोलीका लागि हसने कामाराले एक गोल फर्काए। खेलको चौथो मिनेटमै जेससको गोलमार्फत सिटीले अग्रता लिएको थियो।
खेलको २३ औं मिनेटमा जेससले नै टोलीको अग्रता दोब्बर बनाए। २८ औं मिनेटमा कामाराले खेललाई २–१ को अवस्थामा ल्याए। ३४ औं मिनेटमा रोड्रिले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ३–१ को अग्रता दिलाए।
खेलको ४९ औं मिनेटमा जेससले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि सिटी ४–१ ले अघि बढ्यो। ५३ औं मिनेटमा जेससले व्यक्तिगत चौथो गोल गर्दै घरेलु टोलीलाई ५–१ को सानदार जित दिलाए।
जितसँगै शीर्ष स्थानमा रहेको सिटीले ३३ खेलमा ८० अंक जोड्दा पराजित वाट्फोर्ड समान खेलबाट २२ अंकका साथ १९ औं स्थानमा छ।
लिगअन्तर्गतकै अन्य खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–१ तथा न्युकासल युनाइटेडले नर्विच सिटीलाई ३–० ले पराजित गरे। त्यस्तै, लेस्टर सिटीले एस्टन भिल्ला तथा टोटेनहमले ब्रेन्टफोर्डसँग गोलरहित बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।