काठमाडाैं-सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड क्लब र सानेपा क्लबले विजयी सुरुआत गरेको छ। एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार सम्पन्न पहिलो खेलमा मनोहराले वीरगञ्ज युथ एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गर्यो।
मनोहराका लागि सुजन बलम्पकी मगर, अजयकुमार चौधरी, विनय खड्का र आशिष श्रेष्ठले एक-एक गोल गरे। वीरगञ्जविरुद्ध पहिलो हाफमा दुई गोल गरेको मनोहराले दोस्रो हाफमा दुई गोल थप्यो।
खेलको सातौं मिनेटमा सुजनले गोल गर्दै मनोहरालाई अग्रता दिलाएका थिए। २१औं मिनेटमा अजयले गोल गर्दै मनोहरालाई पहिलो हाफमा २ गोलको अग्रता दिलाए।
५६औं मिनटमा आशिषले गोल गर्दै मनोहरा टोलीलाई ३–० को अग्रता दिलाए। ७०औं मिनेटमा कप्तान विनयले गोल गर्दै मनोहराई ४–० को जित दिलाए।
जितसँगै मनोहराले ३ अंक जोडेको छ। यता, वीरगञ्जको भने हारबाट प्रतियोगिता सुरुआत भएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा शनिबार नै भएको दोस्रो खेलमा सानेपाले ओसिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सुरुआत गरेको छ।
सानेपाको जितमा खेमराज तामाङले दुई गोल गरे। यता, सन्देश खत्रीले एक गोल थपे। खेलको ४२औं मिनटमा सन्देशले गोल गर्दै सानेपालाई अग्रता दिलाएका थिए।
५०औं मिनटमा खेमराजले गोल गर्दै सानेपा २–०ले अघि बढाए। त्यसपछि ८७औं मिनटमा खेमराजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सहज जित दिलाए।
जितसँगै सानेपाले आफ्नो पहिलो खेलबाट ३ अंक जोडेको छ। यता, ओसिसले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।