काठमाडौं–चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा यसपटक ‘आमा’ले उत्कृष्ट चलचित्रको पुरस्कार जितेको छ। निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको उक्त फिल्मले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट चलचित्रको उपाधि हात पारेको हो।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसहित विभिन्न कलाकारहरुको उपस्थिति थियो। कार्यक्रममा २०७६ र २०७७ मा प्रदर्शनमा आएका चलचित्रहरुबाट छनोट गरि विभिन्न विधामा पुरस्कार दिइएको थियो। उत्कृष्ट चलचित्रको पुरस्कार पाएको ‘आमा’बाटै अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्री र निर्देशक खनालले उत्कृष्ट निर्देशकको उपाधि पनि पाएका छन्।
त्यस्तै, ‘छ माया छपक्कै’ फिल्मका लागि अभिनेता दीपकराज गिरीले उत्कृष्ट अभिनेताको उपाधि पाएका छन्। उत्कृष्ट छायांकनमा ‘छ माया छपक्कै’का लागि हरि हुमागाईं, उत्कृष्ट सम्पादनमा ‘कब्बड्डी कब्बड्डी कब्बड्डी’का लागि निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले, उत्कृष्ट पटकथाका लागि ‘जात्रै जात्रा’बाट प्रदीप भट्टराईलगायतले पुरस्कार पाएका छन्।
कार्यक्रममा अभिनेत्री भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो। त्यस्तै, फिल्म ‘जीवन काँडा की फूल’का लागि अवस्था थापा र ‘रातो टीका निधारमा’का लागि अंकित शर्माले जुरी अवार्ड हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।