काठमाडौं- सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अब सबैलाई आफ्नो ध्यान संसद् भवनतर्फ मोड्न आग्रह गरेका छन्। आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आजकै प्रतिनिधि सभा बैठकमा सम्झौता टेबल हुने बताए।
'आज एमसीसी परियोजना सम्झौता सार्वभौम संसद्मा टेबल हुन्छ। यसपछि सडकमा होइन, संसद्मा गहन रुपले छलफल भएर एउटा निष्कर्षमा पुग्ने कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु,' उनले भने।
उनले प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि यसबारेमा जेजे प्रश्नहरु छन्, सार्वभौम संसद्मा सार्वभौम जनताबाट निर्वाचित प्रतिनिधिहरुले यसबारेमा सघन छलफल गर्ने र एउटा निष्कर्षमा पुग्ने बताए।
उनले एमालेले एमसीसीलाई संसद्मा दर्ता गरेकाले उसले गर्ने अवरोधबारे जनतालाई जवाफ दिनुपर्ने बताए। 'आज टेबल हुन्छ। म यतिमात्रै भन्न चाहन्छु कि एमसीसीलाई विगतको केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको हो। सरकारको अविच्छिन्न उत्तराधिकारीको रुपले हामीले आज टेबल गराउँछौँ', उनले भने, 'अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त्यतिबेला सरकारमा हुनुहुन्थ्यो। आज त्यसको जवाफ दिनुपर्छ। उहाँहरुसँग तपाईंहरुले सोध्नुहोला।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।